राष्ट्रिय युवा कविता प्रतियोगितामा सुनसरीको पराजुली प्रथम

तामसालिङ खबर
२७ आश्विन २०८०, शनिबार २२:३९

असोज, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित खुला कविता प्रतियोगितामा सुनसरीका सुरज पराजुलीको कविता “पर्खाइ”ले प्रथम स्थान हासिल गरेको छ ।

चितवनका कवि प्रदीप अन्जानको कविता “कुण्डली”ले दोस्रो स्थान तथा नुवाकोटका कवि एलिसा एकलासको कविता “निर्धो वक्ररेखा”ले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । साथै, सान्त्वना पुरस्कार तनहुँका कवि भीम प्रसाद खतिवडाको “मेरो यात्रा”ले प्राप्त गरेको छ । प्रदेश युवा परिषद्, बागमती प्रदेशको आयोजना एवम् साहित्य सङ्गम मकवानपुरको सहकार्यमा हेटौंडामा आयोजित राष्ट्रिय खुला कविता प्रतियोगिता र युवा पुस्तामा कविता क्रेज बहस कार्यक्रमका साथै कवि विप्लव प्रतीकको एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको हो ।

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथिमा कवि विप्लप प्रतीक र हेटौँडाका पूर्व सभासद् अनन्त पौडेल हुनुहुन्थ्यो ।

कार्यक्रमको औचित्यमाथि सङ्गमका अध्यक्ष डि.बि. बर्तौलाले प्रकाश पार्नुभएको थियो भने सङ्गमका सचिव मनोज पोखरेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सम्पूर्ण सहभागी कविहरूलाई कार्यक्रमका सभाध्यक्ष एवम् प्रमुख अतिथिज्यूले कदर पत्रद्वारा सम्मानित गर्नुभएको थियो भने पहिलो, दोस्रो, तेस्रो हुने कविहरूलाई क्रमशः चालिस हजार तीस हजार, बिस हजार र सान्त्वना दस हजार नगद प्रदान गर्नु भएको थियो ।

राष्ट्रव्यापी खुला कविता प्रतियोगिताको लागि देशभरिबाट १५३ कविताहरू प्राप्त भएका थिए । तीन सदस्यीय निर्णायक मण्डलहरूलाई प्राप्त कविताहरूमध्ये प्रारम्भिक चरणमा २० कविहरूका कविता छनौट भएको थियो र वाचनको लागि आह्वान गरिएको थियो । निर्णायक मण्डलमा कवि भूपिन खड्का, कवि डा. विन्दु शर्मा र हेटौँडाका कवि निमेष निखिल रहनुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*