मकवानपुरमा सवारी दुर्घटनामा एकको मृत्यु, नौ जना घाईते
असोज, हेटौंडा – बुधबार मकवानपुरमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ भने नौ जना घाईते भएका छन् ।
धरान चतरा सडक खण्ड अन्तरगत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ तीनतलेमा बुधबार दुध बोक्ने खाली ट्याङ्कर दुर्घटना हुदाँ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ एचआईडी निवासी अन्दाजी ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम प्रवक्ता लक्ष्मी भण्डारीले बताउनु भयो ।
हेटौंडाबाट बकैया तर्फ गइरहेको ना.१ घ ५४४ नम्बरको ट्याङ्कर गाडी तीनतलेमा सडकबाट आफैं अनियन्त्रित भई एक सय मिटर तल खस्दा सख्त घाईते भएका लामालाई उपचारको लागी हेटौडा अस्पताल ल्याईएको र उपचारको क्रम्मा मध्यान्ह १२ बजे निधन भएको प्रहरी प्रवक्ता भण्डारीले बताउनु भयो । दुर्घटनामा सहचालक धादिङ जिल्ला गजुरी निवासी ४५ वर्षका प्रेम अधिकारी भने घाइते भएका छन् । उहाँका दाहिने खुट्टाको घुडामा गहिरो चोट लागेको र उनको हेटौडा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो ।
यस्तै बुधबार दिउसोनै मकवानपुरको हेटौडामा ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ सान्नानीटारमा पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सान्ननीटारमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज ३१६७ नम्बरको म्याजिकलाई सोहि दिशाबाट आएको ना ५ ख ९६८४ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा उक्त घटना भएको प्रहरी प्रवक्ता भण्डारीले बताउनु भयो । सडक किनारमा रोकी यात्रु चढाईरहेको अवस्थामा म्याजीकलाई ट्रकले ठक्कर दिएको उहाँले बताउनु भयो ।