राक्सिराङ्गमा कार्यान्वयनमा आयो, खादाको सट्टा स्थानीय फुलमाला
असोज, हेटौंडा (राक्सिराङ्ग) – मकवानपुरको राक्सिराराङ गाउँपालिकाले कपडाको रेडिमेट खादा प्रयोगमा रोक्ने निर्णय कार्यान्वयनमा आएको छ । गत साउन ३१ गते गाउँ कार्यपालिकाको बैठकले गरिएको निर्णय अनुसार आयतित कपडाको खादा प्रयोगमा बन्द गरी गाउँमा फूलेका फूलहरु प्रयोग गर्न थालिएको छ ।
शनिवार राक्सिराङ (आई.टि.एफ) तेक्वान्दो दोजाङको पहिलो बार्षिक साधारण सभा तथा पदक वितरण कार्यक्रममा उपस्थित अतिथिहरुको गलामा गाउँमै फूलेका मखमली, लाउरे फूल र बाह्रमासे फूलका रंगीचंगी मालाहरुले सजिएका थिए । ब्याचमा हरियो पिपलको पातमा सेता टिपेक्सले लेखिएका अक्षरहरु र अतिथि सत्कार गर्दै लगाइएको रंगिन फूलका मालाहरुले अझ शोभा थपिएको थियो ।
राक्सिराङ (आई.टि.एफ) तेक्वान्दो दोजाङले यसरी अतिथि सत्कार गरेसँगै गाउँपालिकाको कार्यपालिका बैठकको निर्णय कार्यान्वयनमा आएको राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो। त्यस्तै, सोमबार गाउँपालिकामा ४ जना नयाँ कर्माचारीलाई फुलमालाद्वारा स्वागत गरिएको थियो ।
पैसाको बचत, प्रकृति, सम्पत्तिको पनि उपयोग गर्ने उदेश्यले गाउँपालिका अन्तर्गतको कुनै पनि कार्यक्रममा गाउँमा फूलेका फूलहरु प्रयोग गर्ने र स्थानीयलाई फूल रोप्नको लागि अभिप्रेरित गर्ने उदेश्य रहेको अध्यक्ष मल्लले भन्नुभयो । ‘गाउँमै फूलेको फूलहरु सुकेर गइरहेका हुन्छन्, ‘हामी एउटैको २ सय सम्म पर्ने खादा किनेर सम्मान गर्छौं । उक्त निर्णय कार्यान्वयनमा ल्याइएको देख्दा निकै खुसी लाग्यो।,’ उहाँले भन्नु भयो।
पालिकाको विभिन्न कार्यक्रममा प्रमुख अतिथिदेखि अतिथिहरुलाई लगाइने ब्याच समेत कागज र कपडाले बनेको प्रयोग नगर्ने कार्यपालिका बैठकले निर्णय गरेको थियो। बिना खर्चमा वातावरणमैत्री पिपलको पातबाट अतिथिको सत्कार गर्ने बानीको विकास गर्ने उदेश्यले कार्यपालिकाको बैठकले निर्णय गरिए सँगै कार्यान्वयनमा समेत जोड दिएको छ ।