मकवानपुरगढी र भीमफेदीमा कोदो खेती बढ्दै

तामसालिङ खबर
७ आश्विन २०८०, आईतवार ०७:००

असोज, हेटौंडा – कोदो खेती हुने मकवानपुरगढी गाउँपालिका हेटौंडा सँगै जोडिएको छ । मकवानपुरगढी-४ कालीखोलाका सुकुमबहादुर घलानले २ वर्ष अघिसम्म आफ्नो जग्गामध्ये ७ रोपनीमा मात्र कोदो रोप्थे । फलेको बेच्नै गाह्रो थियो । अब भने उनी ढुक्क छन् ।

बजारीकरणमा स्थानीय तहले सघाउन सुरु गरेपछि उनले यसपटक २० रोपनीमा कोदो रोपेका छन् । मकवानपुरका दुई स्थानीय तहले रैथाने बालीका विशेषगरी कोदो खेतीलाई अनुदान दिएर प्रोत्साहन दिँदै आएका छन् । धान र गहुँ जसरी सिँचाइ नचाहिने यो बाली किसानले निर्वाहमुखी तवरले परम्परादेखि लगाउँदै आएका थिए । अब भने व्यवसायिक खेती अघि बढेको छ ।

एउटा गाउँपालिकाले कोदोको ब्रान्डिङसँगै बजारीकरण पनि थालेको छ । मकवानपुरगढी र सँगैको भीमफेदी गाउँपालिकाले चालु वर्षदेखि कोदो खेतीलाई प्रोत्साहन थालेका हुन्। गाउँपालिकाले बजारको व्यवस्थासँगै समर्थन मूल्य पनि तोकेकाले बिक्री हुनेमा ढुक्क घलानले यो वर्ष २० रोपनी जग्गामा कोदो रोपेका छन् । खेती विस्तार गर्ने घलान एक्ला होइनन् । २ रोपनीमा लगाउँदै आएकी अम्बिका चौलागाईले यसपटक १० रोपनी जग्गामा कोदो रोपेकी छन् ।

मकवानपुरगढीका १, २, ४ ,७ र ८ नम्बर वडाका अधिकांशले बासिन्दाले कोदो खेती गरेका छन् । ‘बेच्न र उचित मूल्य पाउन समस्या नभएकाले कोदो रोप्न थालेका हौं‚’ कुसुमबहादुर घलानले भने,‘पहिला त गाईगोरुलाई नल खुवाउन घाँसको रुपमा कोदो खेती गरिन्थ्यो, अहिले कमाइका लागि गरिन्छ ।’

मकवानपुरगढी गापाले कोदोको समर्थन मूल्य प्रतिकेजी ४५ रुपैयाँ तोकेको छ । कोदो स्थानीय सहकारीमा बेच्ने किसानलाई प्रतिकेजी थप २ रुपैयाँ र सहकारीलाई बजारको व्यवस्थापन गर्न प्रतिकेजी २ रुपैयाँ अनुदान दिने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दोर्जे लामाले बताए । उनले भने ‘मकवानपुरगढीका कृषकहरु अहिले कोदो खेतीतर्फ आकर्षित भएका छन् ।’ संघीय सरकारले कोदो खेतीको प्रवर्द्धनका लागि अनुदान दिन थालेपछि गाउँपालिकाले पनि सहल गरेको उनले बताए ।

मकवानपुरगढीमा गत वर्ष २ सय ५० हेक्टरमा कोदो खेती थियो । अहिले विस्तार भएर ३ सय हेक्टर पुगेको गाउँपालिकाको कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले    बताए । उनका अनुसार पालिकाका करिब २ सय घरधुरीले कोदो खेती गरेका छन । गाउँपालिकाले कोदोको पिठो बजारमा ल्याएको छ ।

कोदोको खपत बढाउन विद्यालयको दिवा खाजा कार्यक्रममा सातामा एक दिन बिहीबार कोदोका परिकार खुवाउनुपर्ने नियम बनाइएको छ । दिवा खाजा कार्यक्रममा कोदोको सेल, हलुवालगायत विभिन्न किसिमका परिकार बनाएर खान दिने गरिएको छ । गाउँपालिकाले गत वर्षदेखि बाँझो जग्गा खनजोत गरेर खेत गर्ने कृषकलाई प्रतिरोपनी ९ सय रुपैयाँ प्रोत्साहनस्वरुप अनुदान दिने गरेको छ । गत आव ४१ रोपनी बाँझो जग्गा खनजोत गरिएको थियो । यो वर्ष गाउँपालिकाले कोदो र फापरको समर्थन मूल्य तोक्नका लागि प्रक्रिया अगाडि बढाएको गापा उपाध्यक्ष मानकुमारी पाख्रिनले बताइन ।

यसैगरी भीमफेदी गाउँपालिकाले चालु आवदेखि कोदो खेती गर्ने किसानलाई प्रतिरोपनी २ हजार ५ सय रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ । कोदो खेती गर्नेलाई अनुदान दिने व्यवस्था बजेटमै घोषणा गर्दा किसानमा सकारात्मक सन्देश गएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताए । ‘अहिलेको वर्ष झण्डै तीन हजार रोपनीमा कोदो रोपिएको छ‚’ उनले भने ।

गत वर्षसम्म कोदो खेती एक हजार रोपनीमा पनि थिएन । कोदो खेती प्रवर्धन गर्न चालु आवकका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कोदो खेतीतर्फ कृषकहरु आकर्षित हुँदा उत्पादन बढ्ने देखिएको गाउँपालिकाको कृषि शाखा प्रमुख केशव रिजालले बताए । ‘किसान यति उत्साहित छन् की गाउँपालिकाले छुट्याएको बजेटले पुग्ला जस्तो छैन‚’ उनले भने । – ईकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*