संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन

तामसालिङ खबर
२६ भाद्र २०८०, मंगलवार ०५:५०

भदौ, काठमाडौँ – नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ। नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम-२ बाट विजयी भएका थिए । उनी एमाले संसदीय दलका उपनेता समेत हुन्।

नेम्वाङ वि स २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए ।

यसैगरी वि सं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यसपछि पुनः राष्ट्रियसभा सदस्य भएका थिए । २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट निर्वाचित नेम्वाङ सार्वजनिक लेखा समिति सभापति पनि भएका थिए । उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ र २०७९ मा पनि इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य र एमाले संसदीय दलको उपनेता थिए ।

विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेम्वाङ नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसायी रहेका थिए ।

नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् । यस्तै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पनि अस्पताल पुगिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*