राक्सिराङको सार्वजनिक स्थानमा मदिरा र सूर्तिजन्य पदार्थ बिक्रीमा रोक, खादा र ब्याच प्रयोगमा प्रतिबन्ध
साउन, हेटौंडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिकाले सार्वजनिक संघसंस्था तथा कार्यालयको सय मिटर वरपर मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सार्वजनिक संस्थाका कार्यालयको सय मिटर क्षेत्र वरपर गुट्खालगायत सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।
त्यस्तै, १८ वर्षमुनिका बालबालिकाहरुलाई मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री नगर्न स्थानीय व्यवसायीलाई सचेत गराउने निर्णय समेत गरिएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रभित्रको सार्वजनिक कार्यक्रममा खादा र ब्याच वितरणमा पनि रोक लगाएको छ।
सार्वजनिक कार्यक्रममा अनावश्यक रुपमा खादा र ब्याचको प्रयोग गर्दा आर्थिक र वातावरणीय रुपमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले त्यस्तो कार्यलाई रोक लगाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। स्थानीय सामाग्रीबाट उत्पादन भएका मौलिक खादा र मालाको मात्रै प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले आयातित खादा रोक लगाइएको उनले बताए।
गाउँपालिकाले पत्रु खानेकुरालाईसमेत निरुत्साहित गर्ने भएको छ । चिसो पेय पदार्थ, चाउचाउलगायतका तयारी पत्रु खानाले स्वास्थ्यमा र आर्थिक रुपमा नोक्सान भएको भन्दै त्यस्तो खानेकुरा प्रयोगमा निरुत्साहित गर्दै जाने नीति लिएको हो । गाउँ कार्यपालिकाको बैठकले नगर प्रहरी नियुक्तिसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेको छ । गाउँमा अब असईको नेतृत्वमा २ जना महिलासहित ७ जना प्रहरी नियुक्त हुनेछन् । ४० वर्ष नटेका पूर्व सेना र प्रहरीलाई नगर प्रहरीमा भर्ति गरिने गाउँपालिकाले जनाएको छ ।