क्याम्पस पढ्न जानेलाई वडा कार्यालयले बस भाडा दिने
साउन, हेटौडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ ले क्याम्पस पढ्न जाने विद्यार्थीहरुका लागि यातायात खर्च उपलब्ध गराउने भएको छ । वडाअध्यक्ष अनिल कुमार बानियाँले सूचना जारी गर्दै आफ्नो वडाबाट हेटौंडा बजारका क्याम्पसमा पढ्न जाने विद्यार्थीहरुलाई यातायात खर्चका लागि आवश्यक कागजात सहित ७ दिनभित्र उपस्थित हुन आह्वान गरेका छन् ।
साविक हर्नामाडी गाविसको सबै वडाहरु मिलेर बनेको हेटौंडा–१८ उपमहानगरको पूर्वी क्षेत्रमा पर्छ । त्यहाँबाट हेटौंडा बजारसम्मको दुरी १८ देखि २० किलोमिटर रहेको छ ।
त्यहाँका विद्यार्थीहरु दैनिक १५० देखि १८० रुपैयाँ बसलाई भाडा तिरेर हेटौंडा बजारमा उच्चशिक्षा अध्ययनका लागि आउने गर्छन् । यातायात खर्चको अभावले गर्दा उच्चशिक्षा लिनबाट बन्चित हुन नपरोस् भन्ने उदेश्यले हर्नामाडीदेखि हेटौंडासम्म लाग्ने दुईतर्फी भाडा वडा कार्यालय बेहोर्ने निर्णय गरिएको वडाअध्यक्ष बानियाँले बताए । उक्त निर्णय आउँदो भदौ १ गतेबाट लागु हुने उनले बताए ।
जारी सुचनामा यातायात खर्चको सुविधा लिनका लागि विद्यार्थी वडा नं.१८ को स्थायी ठेगाना भएको हुने पर्ने उल्लेख छ । त्यस्तै आवश्यक कागजातहरु नागरिकताको फोटो कपी, विद्यार्थीको आमाबुवाको नागरिकताको फोटो कपी, पासपोर्ट साइजको फोटो, क्याम्पसको आईडी कार्ड र हस्तलिखित निवेदन रहेका छन् ।