जनजाति समुदायमाथि प्रहरीको दमनबारे छानबिन समिति गठन

तामसालिङ खबर
२४ श्रावण २०८०, बुधबार १९:५०

साउन, काठमाडौँ – जनजाति समुदायको आन्दोलनमा सहभागीहरूलाई टेकु प्रहरीले गरेको दमन र हिरासतमा कुटपिट गरेको घटनाबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध केही सातादेखि नै तामाङ र मगर समुदायका अगुवाहरू आन्दोलित थिए । उक्त आन्दोलनमा सहभागीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको भन्दै प्रहरीको कडा आलोचना हुँदै आएको थियो ।

सोही घटनाबारे छानबिन गर्न सरकारले बुधबार गृह मन्त्रालयका उपसचिव रामबहादुर शाहीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न समितिलाई १० दिनको म्याद तोकिएको मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

अधिवक्ता पाण्डेले तामाङ, मगर र मुस्लिम समुदायको विवाह संस्कारबारे विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्ति संविधान र कानुनविपरीत भन्दै नेपाल तामाङ घेदुङले दिएको जाहेरीबमोजिम पक्राउ पुर्जी जारी गर्दासमेत प्रहरीले पक्राउ नगरेपछि १७ साउनमा तामाङ, मगर समुदायको अगुवाइमा टेकु प्रहरीमा धर्ना दिइएको थियो ।

त्यसक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको र तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएर हिरासतमै चरम यातना दिएपछि आदिवासी जनजाति समुदाय आन्दोलित छन् ।

यसैबीच, संखुवासभाको जिल्ला कारागारभित्र कैदीबन्दीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको बुधबार बिहान मृत्यु भएको सम्बन्धमा समेत सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय समिति बनाइएको छ । समितिको संयोजकको रुपमा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डे रहेको गृह मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*