बागमती प्रदेशमा टुक्र्याइयो मन्त्रालय

तामसालिङ खबर
२२ श्रावण २०८०, सोमबार १६:४६

साउन, हेटौडा – मन्त्रालयको संख्या ११ बाट १२ पुर्‍याई ७७ दिनदेखि विनाविभागीय रहेका मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिने तयारी
सत्तागठबन्धनभित्रको भागबन्डा मिलाउन बागमती सरकारले मन्त्रालय टुक्र्याएको छ ।

अहिले ११ वटा मन्त्रालय रहेकोमा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय थपिएको छ । सो मन्त्रालयमा लामो समयदेखि विनाविभागीयमन्त्री रहेका रामकृष्ण चित्रकारलाई नियुक्त गर्ने तयारी छ ।

चित्रकार ७७ दिनदेखि जिम्मेवारीविहीन छन् । माओवादीको केन्द्रीय बैठकका लागि काठमाडौंमा रहेका मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रदेश राजधानी हेटौँडा फर्किएलगत्तै चित्रकारले जिम्मेवारी पाउनेछन् ।

प्रदेश सभा निर्वाचनपछि एमालेसँगको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले प्रदेशको खर्च कटौती गर्ने भन्दै मन्त्रालयको संख्या घटाउने पहिलो निर्णय गरेका थिए । सोही निर्णयअनुसार मन्त्रालयको संख्या घटाएर ११ बनाइएको थियो । तर, सत्तासमीकरण बदलिएको पाँच महिनापछि मुख्यमन्त्री जम्कट्टेलले गठबन्धनको भागबन्डा मिलाउन मन्त्रालय टुक्र्याई १२ पुर्‍याएका छन् ।

गत १३ फागुनमा तत्कालीन सत्तासाझेदार दलहरू एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि कांग्रेस र एकीकृत समाजवादी सरकारमा प्रवेश गरेका थिए । २६ चैत र ७ जेठमा विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको थिएन । मुख्यमन्त्री जम्कट्टेलले लामो सयमसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएपछि बाध्य भएर मन्त्रालय बढाएको प्रतिक्रिया दिए । कांग्रेस प्रदेश संसदीय दलका उपनेता चित्रकारले मन्त्री नियुक्त भएदेखि नै जिम्मेवारी पाएका थिएनन् ।

कांग्रेसले माओवादीको भागमा रहेको भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी मन्त्री चित्रकारलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आएको थियो । माओवादीले भने भौतिक पूर्वाधार मन्त्रालय विभाजन गर्न अस्वीकार गर्दै आएको थियो । अन्ततः कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय टुक्र्याई चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको हो । अब प्रदेशमा कांग्रेसका ६, माओवादीको मुख्यमन्त्रीसहित चार र एकीकृत समाजवादीका दुई गरी १२ मन्त्री भएका छन् । – नया पत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*