राक्सिराङ्गको पलासेमा भगवान सीता र त्रिजटाको मुर्ति प्राण प्रतिष्ठा
असार, राक्सिराङ – गुरु पूर्णिमाको अवसरमा सोमबार मकवानपुरको राक्सिराङमा भगवान सीता र त्रिजटाको मुर्ति प्राण प्रतिष्ठा गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा राक्सिराङ्ग गाउँपालिकाको वडा नम्बर ३ पलासे स्थित सीता अशोक बाटिकामा भगवान सीता र राक्षस मानिने त्रिजटाको मुर्ति एकसाथ प्राण प्रतिष्ठा गरिएको हो ।
मुर्ति प्राण प्रतिष्ठा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रमुख शर्माले धार्मिक पर्यटन विकासका हिसाबले राक्सिराङमा सम्भावना बढेको बताउनुभयो। धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आवश्यक राज्य स्तरको केन्द्र, प्रदेश र स्थानीय तह सबैको सहयोगको उनले शुभकामना दिनुभयो ।
राप्ती डिभिजन वन र भर्याङ कालिका सामुदायिक वनको सहकार्यमा गतवर्ष प्रदेश सरककारको पर्यापर्यटन कार्यक्रम अन्तर्गत ५ लाख बजेटमा उक्त क्षेत्र वरपर सरसफाई, पर्खाल निर्माण, धारा माथिको अशोकमा चौतारा निर्माण भएको र यस वर्ष संघीय सशर्त तर्फ रु १० लाखको बजेटमा अपुरो पर्खाल निर्माण, सरसफाई, २ वटा मूर्ती निर्माण, स्थापना र ५ वटा गौमुख धाराको निर्माण गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख बिष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो। विश्वमै भगवान सीता र राक्षस मानिने त्रिजटाको मुर्ति एकसाथ पहिलो पटक राखिएको उहाले बताउनु भयो।
मुर्तिका प्राण प्रतिष्ठान गर्ने कार्यक्रममा जानकी मन्दिर जनकपुरबाट प्राप्त फूलमाला, पाती, प्रसादका साथै दूधमती नदीबाट ल्याइएको जल शेचन गंगा सागार आरती गर्ने पण्डित दिनेश भण्डारीले आरती गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, डिभिजन वन अधिकृत शिव सापकोटा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गतौंला, मनहरी गाउँपालिका पूर्व अध्यक्ष एकराज उप्रेती, ‘क्लिन जनकपुर, ग्रिन जनकपुर,’ गंगा साँगर सफाइ अभियान्ता सुरेश शर्मा, मिथिला वाईल्डलाईफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल, दूधमती नदी संरक्षणका अभियान्ता सुदिप मण्डल लगायतको उपस्थिती रहेको थियो ।
डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरको आयोजनामा भएको कार्यक्रम राक्सिराङ गाउँपालिकाले समन्वय तथा भर्याङ्ग कालिका सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा भएको थियो।