जनजाति युवाहरुका लागि नेतृत्व विकास तालिम शुरु
असार, हेटौडा (मनहरी) – मनहरी गाउँपालिकामा आदिवासी जानजाति युवाहरुका लागि ३ दिने नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम शुरु भएको छ ।
मनहरी गाउँपालिकाको आयोजना र ग्रेटर तामसालिङ मिडिया प्रालिको समन्वयमा ३ दिने तालिम आयोजना गरिएको हो । तालिमको पहिलो दिन शुक्रबार अधिबक्ता अजय कुमार तामाङ्ले आदिवासी जनजातिको परिचय, यसबारे राष्ट्रिय अन्तराष्ट्रिय मान्यता, सामाजिक तथा कानुनी ब्यवस्था लगायत बिषयमा सहजीकरण गर्नुभयो।
गाउँपालिका सामाजिक बिकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले मनहरी गाउँपालिकामा अधिकांश आदिवासी जनजातिको बसोबास रहेको गाउँपालिका भएकाले यस्ता कार्यक्रमहरु प्रभावकारी हुने बताउनुभयो । गाउँपालिकाले अगामी बर्षको लागि निति तथा कार्यक्रम निर्माण गरिरहेको बताउँदै जनजाति लक्षित विभिन्न कार्यक्रम समावेश गरिने उहाँले बताउनुभयो ।
३ दिनसम्म चल्ने तालिममा पत्रकार शिवकुमार काशी, ज्ञानेन्द्र तामाङ, आदर्श सिं थोकर लगायतले सहजीकरण गर्ने कार्यक्रम संयोजक जयराम मोक्तानले जानकारी दिनुभयो ।
त्यस्तै, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर लगायतले जनजाति आन्दोलन र राजनितिक तथा समाजिक संघर्षका बिषयमा आफ्ना अनुभव समेत तालिका रहेको संयोजक मोक्तानले बताए । कार्यक्रममा गाउँपालिकाका ९ वटै वडाका जनजाति युवाहरुको प्रतिनिधिमुलक सहभागिता रहेको छ।