थाहा नगरमा बसपार्क सन्चालन कार्यबिधि पास
जेठ, हेटौडा (थाहा नगर) – थाहा नगरपालिका नगरकार्यपालिकाको बैठकले थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन थाहा बसपार्क संचालन तथा व्यवस्थापन कार्यविधि २०८० पारित गरेको छ।
कार्यविधि पारित भएसंगै अन्यौलमा रहेको थाहा बसपार्क संचालनको बाटो खुल्ला भएको प्रवक्ता हेरमान गोपालीले जानकारी दिनुभयो। कार्यबिधि अनुसार थाहा बसपार्क नगरपालिकाको मातहतमा रहने गरि नगर प्रमुखले सिफारिस गरेको ब्यक्तिको अध्यक्षतामा सात सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । समितिमा एकजना सचिब, एकजना कोषाध्यक्ष रहनेछन् ।
समितिका सदस्यहरुमा नगर प्रहरी प्रमुख, यातायात व्यावसायीहरु मध्येबाट एक जना, उद्योग वाणिज्य संघको तर्फबाट एक जना र उपभोक्ताहरु मध्येबाट एक जना हुने व्यवस्था रहेको छ।
बैठकले आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेटको तयारीका लागि प्रत्येक वडामा टोल भेला गरि सुझाव संकलन गर्ने लगायत बिभिन्न निर्णय गरेको प्रवक्ता गोपालीले जानकारी दिनुभयो । साथै बैठकले बिपद व्यवस्थापन कोष संचालन कार्यविधि २०८० र व्यापार व्यवसाय सम्बन्धी कार्यविधि २०७७ लाई संशोधन समेत गरेको प्रवक्ता गोपालीले जानकारी दिनुभयो ।
बैठकले नगरभित्र निर्माण हुने घरहरुको नक्सा पास कार्यविधि ल्याउने समेत निर्णय गरेको छ। थाहा नगरपालिका भित्र निर्माण भैसकेका र निर्माणाधिन घरहरुको नक्सा पास गर्नुपर्ने मापदण्ड अनुसार निर्माण भएका भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिने, मापदण्ड बिपरित निर्माण भएका घरहरुलाई अभिलेखिकरण गर्ने, नयाँ बन्ने घरहरुलाई भवन निर्माण सम्बन्धि कार्यविधि बनाई नक्सा पास भएपछि मात्र घर निर्माण गर्न आग्रह गर्ने र डिपिसी गरेर राखेको घरहरुको निर्माण प्रक्रिया पूरा गर्न सूचना जारी गर्ने समेत निर्णय गरिएको कार्यपालिका सदस्य एवम् वडा नम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताउनुभयो।