पारिजातको स्मृतिमा हेटौडामा कविता प्रतियोगिता
बैशाख, हेटौडा – साहित्यकार पारिजातको स्मृति दिवसको सन्दर्भमा आयोजित ‘पारिजात’ विषयक खुला कविता प्रतियोगिता तथा परिचर्चा कार्यक्रम मंगलबार दर्शन पार्टी प्यालेसमा सञ्चालित भएको छ ।
हेटौँडा उपमहानगरपालिका १० नं. वडा कार्यालय र आँचल साहित्य कला पुञ्ज मकवानपुरको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको थियो।
समीक्षक तथा समालोचक घनश्याम घिमिरेले पारिजातको व्यक्तित्व तथा कृतित्वको माथि प्रकाश पार्नुभएको थियो ।
३५ जना प्रतियोगी कविले रचनावाचन गर्नुभएको कार्यक्रममा कवि श्यामकुमार बानिया, कवि शान्ति प्रियवन्दना र कवि छवि अनित्य निर्णयबाट समर्पण न्यौपाने प्रथम, कृष्मा लौडारी द्वितीय, रिवाज कार्की तृतीय, अनिल कोइराला सान्त्वना तथा प्रेरक गौतम र शिष्टता ढोडारीले बाल प्रतिभा प्रोत्साहन पुरस्कार प्राप्त गर्नु भएको थियो ।
कविता प्रतियोगितामा पुरस्कृत कविलाई क्रमशः ६ हजार, ४ हजार, ३ हजार, १ हजार र ५ सय, ५ सय नगद राशी सहित प्रमाणपत्र, श्यामप्रसाद शर्माका पुस्तकहरू प्रदान गरिएको थियो ।
आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाको सभाध्यक्षता सम्पन्न कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख अतिथि हुनुभएको थियो । हेटौँडा उपमहानगरपालिका १० नं. वडाका वडा अध्यक्ष श्री फुर्वादोर्जे लामा, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालको विशिष्ट आतिथ्यता, इन्द्र नेपाल, सुवास खनाल, पुणर्कला घिमिरे तथा हेटौँडा उपमहानगरपालिका वडा नं. १० का टोलविकास संस्था, आमा समुहको पनि उपस्थिति रहेको थियो ।