आधिकारिक रुपमा नेपालमा दर्ता भयो गुगल

तामसालिङ खबर
८ बैशाख २०८०, शुक्रबार १०:२५

बैशाख, काठमाडौं – विश्वकै ठूलो प्रविधि कम्पनीमध्येको गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) नेपालको कर प्रणालीमा दर्ता भएको छ । आन्तरिक राजस्व विभाग अन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेल बताए ।

विभागका अनुसार सिङ्गापुर स्थित क्षेत्रीय कार्यालयका नाममा गुगल दर्ता भएको हो । कम्पनीले नेपालमा नै कार्यालय खोल्ने विषयमा भने केही जानकारी आएको छैन । विद्युतीय सेवा करको प्रशासन हेर्ने गरी विभागले ललितपुरको हरिहरभवनस्थित ठूला करदाता कार्यालयलाई जिम्मेवारी तोकेको गोरखापत्रमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्ष २०७९/८० देखि गैरवासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लागू गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*