एक लाख भन्दा धेरै राशीको ‘घेदुङ ग्योइकाइ पुरस्कार-२०७९’ डाजाङले पाउने
माघ, काठमाडौं – साहित्यिक संस्था तामाङ डाजाङले १ लाख ५ हजार राशीको पुरस्कार पाउने भएको छ । तामाङ भाषा संरक्षणका लागि साहित्य लेखन, प्रकाशन तथा प्रसारण लगायत गतिविधि गर्दै आएको तामाङ डाजाङलाई नेपाल तामाङ घेदुङले यस वर्षदेखि प्रदान गर्न लागेको ‘घेदुङ ग्योइकाइ पुरस्कार–२०७९’ दिने निर्णय भएको जनाएको छ ।
नेपाल तामाङ घेदुङले तामाङ भाषा, साहित्य तथा लिपिमा योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई प्रोत्साहन स्वरुप हरेक वर्ष पुरस्कार दिने गरि स्थापना गरेको छ । कोष मार्फत १ लाख ५ हजार रुपैयाँको पुरस्कार राशीसहित हरेक वर्ष पुरस्कृत गर्ने योजना अनुसार पहिलो वर्ष विगत २० वर्षदेखि तामाङ साहित्यका क्षेत्रमा काम गर्दै आएको तामाङ डाजाङ छनोटमा परेको घेदुङले जनाएको छ ।
घेदुङले पुरस्कार यही माघ ८ गते काठमाडौंको टुँडिखेलमा आयोजना गर्ने ल्होछार समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट प्रदान गरिने कार्यक्रम रहेको छ । २०५९ सालमा स्थापना भएको तामाङ डाजाङले हरेक महिनाको अन्तिम शनिबार साहित्य वाचन कार्यक्रम गर्दे आइरहेको छ । यस संस्थाले ग्योइकाइ गेताङ कार्यक्रम हालसम्म २१८ औं शृंखला सम्पन्न भएका छन् ।
यस्तै साहित्यिक तामाङ डाजाङ मासिक पत्रिका प्रकाशन गर्दै आएको छ । पत्रिका हाल सम्म १८९ औं अंक प्रकाशन भइसकेको छ । अन्य साहित्यिक पुस्तकहरू –३३ डाजाङले प्रकाशन गरेको छ । संस्था मार्फत रेडियो कार्यक्रम ‘तामाङ काइ’ सञ्चालन गर्दै आइरहेको छ भने ८८६ औं शृंखला सम्म सन्चालन भइसकेको छ ।