बागमती प्रदेश सभाका १ सय ९ जना सदस्यले लिए शपथ (फोटोहरु)
पुष, हेटौडा – बागमती प्रदेश सभाका नवनिर्वाचित प्रदेश सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
बिहिबार बागमती प्रदेश सभा सचिवालयमा प्रदेशका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले १ सय ९ जना प्रदेश सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
बागमती प्रदेश सभामा एक सय १० सदस्यीय मध्ये नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन् ।
नेवारीमा १२ जना र तामाङमा ३ जनाले सपथ लिए
प्रदेश सभाका १२ जना सदस्यहरुले नेवारी र ३ जनाले तामाङ भाषामा सपथ लिएका छन् ।
मातृभाषामा शपथ लिने प्रदेश सभा सांसदहरूमा कांग्रेसका ३ जना, एमालेका ४ जना, माओवादी केन्द्रका ५ जना, एकीकृत समाजवादीका १ र हाम्रो नेपाली पार्टीका २ जना छन् ।
नेवारी भाषामा सपथ लिनेहरुमा कांग्रेसका हरिप्रभा खड्गी, समिता खड्गी र रामचन्द्र महर्जन, एमालेका प्रेमभक्त महर्जन, रामेश्वर श्रेष्ठ, रघुनाथ महर्जन र प्रकाश श्रेष्ठले पनि नेवारी भाषामा शपथ लिएको सचिवालयले जनाएको छ ।
त्यस्तै, माओवादीका गंगानारायण श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र भुवनकेशरी श्रेष्ठ, एकीकृत समाजवादीका वसन्तप्रसाद मानन्धर, हाम्रो नेपाल पार्टीका शैलेन्द्रमान बज्राचार्य र सरिता खड्गीले नेवारी भाषामा शपथ लिएका छन् ।
त्यस्तै गरि, माओवादी केन्द्रका राधिका तामाङ, कुमारी मोक्तान र उर्मिलाकुमारी तामाङले तामाङ भाषामा शपथ लिएको सचिवालयले जनाएको छ ।