मकवानपुरमा मकवानपुर क्षेत्र नम्बर १ बाट मतगणना सुरु
मंसिर, हेटौडा – मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । सोमबार मध्यान्ह १२ बजेबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर-१ को प्रतिनिधिसभा तर्फको मतगणना सुरु भएको हो ।
बिहान ८ बजे बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो । हेटौँडा–२ स्थित सिद्धार्थ उच्च माविमा निर्धारित समय भन्दा साँढे एक घण्टा ढिला गरी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट मतगणना सुरु गरिएको हो ।
आइतबार मतपेटिका ल्याउन ढिला भएपछि मतगणना केही ढिलो भएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए। उनका अनुसार मकवानपुर-२ को पनि मतगणना सुरु गर्ने तयारी भइरहेको छ । एकैपटकमा १२ स्थानमा प्रतिनिधि र प्रदेशसभा तर्फको प्रत्यक्ष तथा समानुपातिक दुवैको मतगणना गर्ने गरी तयारी गरेको उनले बताए ।
आइतबार भएको मतदानमा मकवानपुरमा ३ लाख ७ हजार ३३ जना मतदाता मध्ये १ लाख ५ हजार १५५ जना मतदाता रहेको क्षेत्र नम्बर-१ मा ६० दशमलव ९९ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ । सो क्षेत्रमा महिला ४५ हजार ४५६, पुरुष ४६ हजार १२३ र अन्य ४ जना गरी कुल ९१ हजार ५८३ जनाले मतदान गरेका छन् ।
त्यस्तै १ लाख ५ हजार ५७८ जना मतदाता रहेको क्षेत्र नम्बर-२ मा ५७ दशमलव ५८ प्रतिशत मत खसेको छ । जसमध्ये पुरुष ४६ हजार ७२३ जना, महिला ३९ हजार ९२९ जना गरी कुल ८६ हजार ६५२ जनाले मतदान गरेका छन् ।