सत्तारुढ गठबन्धनका उम्मेदवारद्वय खतिवडा र बानियाँ मनहरीको बगरबस्ती पुगे

तामसालिङ खबर
४ कार्तिक २०७९, शुक्रबार ०८:०४

कार्तिक, हेटौडा (मनहरी) – मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार बिरोध खतिवडा र प्रदेश सभा तर्फ २ ख का उम्मेदवार इन्द्रबहादुर बानियाँ मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित बगरबस्तीमा पुगी अब्यवस्थित बसोबास, वन्यजन्तुको आक्रमण लगायतका बिषयमा जनताका समस्याको सुनुवाई गर्नु भएको छ ।

निकुन्ज संगै जोडिएको बस्ति भएकोले वन्यजन्तुले मानवीय र भौतिक क्षति पु¥याइरहने समस्या समाधानका लागि नीतिगत रुपमै पहल गरिने दुबै उम्मेदवारले बताउनुभयो । संसदमा क्षतिपूर्तिका लागि पटक पटक माग गर्दा गर्दा बल्ल राज्यले नीतिगत रुपमा क्षतिपूर्ति दिने व्यवस्था मिलाएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार खतिवडाले बताउनुभयो ।

उहाँले आगामी दिनमा बन्ने गठबन्धनको सरकारले नै भूमिहीन समस्या समाधान गर्दै लालपुर्जा बितरण गर्ने र वन्यजन्तु नियन्त्रणका लागि थप कार्यक्रम र योजनाहरु ल्याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

त्यसैगरी प्रदेश सभा ख का उम्मेदवार बानियाँले स्थानीय स्तरमा उठेका समस्याहरुको समाधानका लागि काँग्रेस नेतृत्वको स्थानीय सरकार रहेको र केन्द्रीय तहका समस्या समाधानका लागि प्रदेश सरकार र संघीय सरकारले काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

आफू सामान्य उम्मेदवार मात्र नभएको र भावी मुख्यमन्त्री समेत रहेको दाबी गर्दै बानियाँले यसअघि बाम गठबन्धनको एमाले सरकार हुँदा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा गरेको बजेट बिनियोजन र अहिले गठबन्धनको प्रदेश सरकार बनेपछि भएको बजेट बिनियोजन तुलना गरेर हेर्न आग्रह गर्नुभयो ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार खतिवडाले २०५१ सालमा आफ्नो गाउँ आफै बनाउँ कार्यक्रम अन्तर्गत सुरु भएको तटबन्धनमा निरन्तर बजेट बिनियोजन गरी ज्यामिरे तटबन्धनलाई निरन्तरता दिइएको र उक्त तटबन्धन अब मनहरी ८ सम्म बिस्तार गरिने बताउनुभयो ।

भेटघाटमा गठबन्धन दल नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका विभिन्न तह र तप्काका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*