संविधान र व्यवस्था रक्षाको लागि गठबन्धनको जित आवश्यक छ – इन्द्रबहादुर बानियाँ

तामसालिङ खबर
३१ आश्विन २०७९, सोमबार ०८:५०

असोज, हेटौडा (मनहरी) – नेपाली कांग्रेसका बागमती प्रदेश सभापति एवम् सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को ख का प्रदेशसभा सदस्य पदका उम्मेदवार ईन्द्रबहादुर बानियाँले संविधान र व्यवस्थाको रक्षाका लागि सत्ता गठबन्धनले जित्नुपर्ने बताउनुभएको छ ।

कांग्रेस मनहरी गाउँपालिका ६ सुनाचुरीमा आयोजित वडास्तरीय भेला तथा चुनावी छलफल कार्यक्रममा उम्मेदवार बानियाँले कांग्रेस सँधैं दिन दुःखीको सेवामा हरतरहले लागिरहेको बताउँदै यस क्षेत्रमा कांग्रेसले अघिल्लो प्रदेशसभामा जितेपछि धेरै विकास निर्माणका कार्य गरिएको बताउनुभयो ।

अगुवा कार्यकर्ताहरुको गुनासा र सुझाव सुन्दै नेता बानियाँले प्रदेश सरकारमा साँढे ३ वर्ष केपी ओली निकट कम्युनिष्ट शासनकालमा केही गर्न नसकेको बताउँदै विगत डेढ वर्षदेखि कांग्रेस मन्त्री मण्डलमा प्रवेश गरेपछि करोडौंको विकास बजेट यस क्षेत्रमा पार्न सफल भएकाले सत्ता गठबन्धनलाई जिताउँदा मतको अवमूल्यन नहुने बताउनु   भयो ।

कांग्रेस मनहरी ६ का वडा सभापति बाबुराम तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर जिल्ला सचिव भीमसेन महत, कांग्रेस मकवानपुर क्षेत्र नं. २ ख का प्रदेश सभापति एवम् मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, मनहरी ६ का वडा अध्यक्ष युवराज थपलिया, पुराना तथा अग्रज नेता कुलबहादुर नगरकोटीले सत्ता गठबन्धनको आगामी चुनावकेन्द्रित विषयमा आ–आफ्नो धारणा र सुझाव राख्नुभएको थियो ।

मकवानपुरमा लोकतान्त्रिक बाम गठबन्धनले निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश क, निर्वाचन क्षेत्र नम्बर २, २ को क र ख मा पुरानै अनुहार अर्थात् प्रेमबहादुर पुलामी, विरोध खतिवडा, कुमारी मोक्तान र ईन्द्रबहादुर बानियाँलाई उम्मेदवार बनाएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा महालक्ष्मी उपाध्याय डिना र प्रदेश ख मा आनन्दराम पराजुली भने नयाँ अनुहार हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*