गाँजा मुद्धामा जेल परेकाहरु तत्काल रिहा हुनुपर्छ – बिरोध खतिवडा

तामसालिङ खबर
२८ आश्विन २०७९, शुक्रबार ०७:३०

असोज, हेटौडा (मनहरी) – मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिरोध खतिवडाले गाँजा मुद्धामा जेल परेका र कैदी जीवन बिताइरहेका सबैलाई तत्काल रिहा गर्न माग गरेका छन ।

उनले नेपालमा अवैध लागुऔषध भनिएको गाँजालाई संयुक्त राष्ट्रसंघले नै लागुऔषध नभई औषधिजन्य विरुवाको रुपमा खुल्ला गरिसकेकाले अब गाँजा मुद्धा लगाइरहनुको अर्थ नभएको बताए ।

‘गाँजालाई लागुऔषधको सुचिबाट राष्ट संघले हटायो भनेपछि यहाँ मान्छे किन जेलमा बस्नुपर्ने’ – उनी भन्छन ‘त्यसकारण आवश्यक कानुन बन्दै गर्छ पहिला जेलमा बसेका सम्पुर्ण मान्छे रिहा हुनुपर्छ ।’

उनले गाँजालाई खुल्ला गर्नका लागि बिधेयक बनिसकेको बताए । ‘गृहमन्त्रालयले बिधेयक तयार गरेर अर्थ मन्त्रालय पठाइसक्यो, अर्थ मन्त्रालयबाट पनि स्विकृत भइसक्यो अहिले कानुन मन्त्रालयमा पुगेर बसेको छ’ – उनले भने । कानुन मन्त्रालयबाट कानुनी भाषा तथा प्रक्रिया मिलेपछि संसदमा पेश हुने र पारित भएलगतै गाँजा खुल्ला हुने उनले बताए ।

‘अब मंसिर ४ पछि बन्ने संसद र सरकारले गाँजालाई खुल्ला गर्छ, केपी ओलीले संसद बिघटन नगरेको भए उहिल्यै खुल्ला भइसक्थ्यो’ – उनले भने ।

यसरी औषधिजन्य बिरुवाको रुपमा खुल्ला हुने निश्चित भइसकेको अवस्थामा गाँजा मुद्धा लगाएर मान्छे थुनिरहनुनपर्ने र थुनिएकाहरु रिहा हुनुपर्ने उनको भनाई छ । गाँजा मुद्धामा सयौँ मानिस जेलमा रहेको बताउँदै उनले ती मान्छे रिहा गर्दा राज्यलाई समेत आर्थिक भार कम हुने बताए ।

‘तीनीहरुलाई खान दिनुपरेन, ओड्न दिनुपरेन, उपचार गर्नपरेन अनि राज्यका पैसा यसै बच्छ’ – उनले तर्क गरे । विकसित देशहरुले गाँजालाई व्यवसायिकिकरण गरिसकेको बताउँदै नेपालमा पनि छिटै ब्यवसायिक उत्पादन सुरु हुने उनको भनाई छ । खतिवडाले गाँजा खुल्ला गर्न आफुले धेरै पहिलेदेखि नै आवाज उठाएको बताउँदै निरन्तर खबरदारी गरिरहने बताए ।

मंसिर ४ को चुनावमा कलम चिन्हमा मत दिएर आफुलाई जिताउनसमेत उनको आग्रह छ । खतिवडाको निर्वाचन क्षेत्र मकवानपुर २ का विभिन्न भागमा गाँजाको खेती हुने गरेको छ । यो क्षेत्रका सयौ मानिस गाँजा मुद्धामा जेल जीवन बिताइरहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*