साफ च्याम्पियनका उपविजेता नेपाली खेलाडीलाई पुरस्कार घोषणा

तामसालिङ खबर
३ आश्विन २०७९, सोमबार २१:४७

असोज, काठमाडौ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ महिला च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीलाई पुरस्कार घोषणा गरेको छ । एन्फाले टोलीका सदस्यका लागि नगद पुरस्कारको घोषणा गरेको हो । दशरथ रंगशालामा एन्फाका उपाध्यक्ष विराटजंग शाहीले खेलाडीको प्रोत्साहन स्वरूप जनही १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरे ।

सोमबार साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भयो । त्रिपुरवेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशका लागि श्रीमोती सरकारलेले दुई र शामसुनाहरले एक गोल गरिन् । नेपालका लागि अनिता बस्नेतले मात्र एक गोल फर्काउन सकिन् । बंगलादेशले भने पहिलोपटक नेपाललाई हराउँदै ऐतिहासिक उपाधि जित्यो ।

योसँगै नेपाल पाँचौंपटक फाइनलमा पुग्दा पनि उपाधि जित्न चुक्यो । यसअघि नेपालले चारपटक फाइनलमा भारतविरुद्ध पराजय बेहोरेको थियो । नेपालले यसअघि २०१०, २०१२, २०१४ र २०१९ को फाइनल खेलेको थियो । बंगलादेशले भने दोस्रोपटककै फाइनल यात्रामा उपाधि जित्न सक्यो । ऊ यसअघि सन् २०१६ को साफमा फाइनलमा पुगेको थियो । यसपालि बंगलादेशले उत्कृष्ट खेल्यो । उसले अपराजित रहँदै उपाधि जित्यो ।

बंगलादेशले भारतलाई पहिलोपटक समेत हरायो । उसले समूह चरणमा भारतलाई ३–० ले हराउँदै ऐतिहासिक सफलता हात पारेको थियो । साथै, बंगलादेशले अन्य टोलीविरुद्ध फराकिलो जित निकालेको थियो । छैटौं संस्करणको साफमा नेपालले उपाधि जित्न नसके पनि समग्रमा प्रदर्शन भने राम्रो गर्‍यो ।

नेपालले पहिलोपटक यही साफमा भारतलाई हरायो । यो नै नेपालका लागि उपलब्धि रह्यो । समूह चरणमा नेपालले दुवै खेलमा जित हात पारेको थियो । बंगलादेशविरुद्ध नेपालको कमजोरी भनेकै फिनिसिङ रह्यो । पटकपटक गोलको अवसर पाए पनि नेपालले त्यसको सदुपयोग भने गर्न सकेन । आक्रामक फुटबल खेले पनि फिनिसिङमा चुक्दा नेपालले घरेलु मैदानमा पहिलोपटक उपाधि जित्न चुक्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*