साफ महिला च्याम्पियनसिप: भारतमाथि ऐतिहासिक जित निकाल्दै नेपाल फाईनलमा प्रवेश

तामसालिङ खबर
३१ भाद्र २०७९, शुक्रबार १९:४८

भदौ, काठमाडौ – साफ महिला च्याम्पियनसिपमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ ।

घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हरायो । नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरिन्।

पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मीले डी-बक्सभित्रबाट दोस्रो बार च्याप्दै गोल गरेकी थिइन् । मैदानको आफ्नै भागबाट आएको लङ पासमा उत्कृष्ट ड्रिबलिङ गर्दै प्रिति राईले रश्मीलाई पास उपलब्ध गराएकी थिइन् ।

खेलको सुरुवातमा भारतले दबाब बनाएपनि त्यसपछि नेपाल आक्रामक देखिएको थियो। दोस्रो हाफको सुरुवातमै भारतीय गोलरक्षकले लगातार उत्कृष्ट बचाउ गरिन् ।

नेपाल यो खेलमा स्टार स्ट्राइकर सावित्रा भण्डारीबिना नै उत्रिएको थियो । बिरामी भएका कारण सावित्रा सुरुवाती-११ मा थिइनन् । उनको स्थानमा सुरुबाटै खेल्ने मौका पाएकी प्रितीले शानदार प्रदर्शन गरिन् ।

नेपालले साफ महिला च्याम्पियनसिपमा भारतलाई पहिलोपटक हराएको हो । यसअघि सम्पन्न पाँच संस्करणमध्ये चारवटामा फाइनल पुगेपनि नेपाललाई भारतले ती सबैमा निराश बनाएको थियो । नेपालले अब उपाधिका लागि बंगलादेश सँग प्रतिस्पर्धा गर्ने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*