नेपाल टेलिकमले आजदेखि निःशुल्क ई-सिम वितरण गर्ने
भदौ, काठमाडौं – नेपाल टेलिकमले आजदेखि निःशुल्क ई-सिम वितरण गर्ने भएको छ ।
सुन्धारास्थित दूरसञ्चार कार्यालयको काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क एम्बेडेड सिम (ई-सिम) वितरण गर्न लागिएको नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन् । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ ।
त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमको भनाइ छ । ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।
के हो ई-सिम ?
ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक (एम्बेडेड) सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रूपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।
ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (वेरबेल डिभाइस) हरूमा समेत प्रयोग गर्न सकिन्छ । हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्ने छन् ।