पर्यटन प्रबर्द्धनको लागि थाहानगरमा विच भलिबल प्रतियोगिता हुने
भदौ, हेटौडा – मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्र थाहा नगरमा पहिलो पटक जिल्ला स्तरीय विच भलिवल प्रतियोगिता हुने भएको छ ।
शुक्रबार हेटौडामा पत्रकार सम्मेलन गर्दै पर्यटन प्रबर्द्धनको लागि थाहा नगरपालिकाको वडा नम्बर ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा यही असोज १४ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने भएको हो । थाहा कला केन्द्रको आयोजना तथा थाहानगर भलिबल संघको समन्वयमा प्रतियोगिता हुने भएको छ ।
थाहा नगरपालिका भलिबलको धरोहर भएकोले गर्दा विच भलिबलमा करिब ५० टिमको सहभागिता हुने प्रतियोगिताको लागि यही असोज १ गते देखि १० गतेसम्म टीम दर्ताको लागि सूचना प्रकाशन गर्ने थाहा कला केन्द्रको अध्यक्ष सानोबाबु मोक्तानले बताउनु भयो । टीम दर्ताको लागि शुल्क १ हजार १ सय रुपैयाँ तोकेको छौ ।’ उनले भने।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा अनुशासित टीमलाई नगद ५ हजार, उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र प्रदान गर्ने आयोजकले बताए ।
पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, जिल्ला भलिबल संघ मकवानपुरका अध्यक्ष बसन्तकुमार सिटौला, कोषाध्यक्ष शंकर कार्की, थाहा नगरपालिका भलिबल संघका अध्यक्ष बसन्त गोपाली, भलिबल संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजु घले लगायतको आतिथ्यता रहेको थियो ।