गठबन्धनमा भागबन्डा सकस, निर्वाचन क्षेत्रअनुसार सहमति खोजिने

पत्रपत्रिकाबाट
२० भाद्र २०७९, सोमबार ०८:११

भदौ, काठमाडौं – सत्तारूढ पाँच दलीय गठबन्धनभित्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भागबन्डाको विषय झनै पेचिलो बन्दै गएको छ।

गठबन्धनभित्रका पाँचै दल आगामी निर्वाचनमा चुनावी तालमेल गर्न सहमत भएपनि उनीहरूबीचमा सिट भागबन्डामा असहमति कायमै छ । गठबन्धन आबद्ध पाँचै दलले ४ मंसिरमा हुने निर्वाचनका लागि सिट भागबन्डाको मुद्दा मिलाउन भन्दै २० साउनमा ११ सदस्यीय कार्यदल बनाएका थिए ।

कार्यदलको पहिलो बैठक २३ साउनमा बसेको थियो भने बैठकले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको थियो । कार्यदलको दोस्रो बैठक २५ साउनमा बसेको थियो ।

योबीचमा कार्यदलले प्रधानमन्त्रीको सरकारी निवासमा पटकपटक बैठक बसेर १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा सिट भागबन्डाको कसरत गरेको थियो । तर, कार्यदलभित्र सहमति हुने अवस्था नबनेपछि कार्यदलले शीर्ष तहका नेतालाई नै सहमतिको गाँठो खोल्ने जिम्मा दिएर प्रतिवेदन बुझाएको थियो ।

कार्यदलले सहमति खोज्न सकस परेपछि बैठकमा दाबी भएअनुसारको विवरण उल्लेख गरेर शीर्ष तहमा विवाद मिलाउने जिम्मासहित प्रतिवेदन दिए पनि शीर्ष तहबाट समेत आआफ्नो दाबी कायम रहेपछि भागबन्डामा सहमति जुट्न नसकेको हो ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको शीर्ष तहका नेता तथा कार्यदलका सदस्यसहितको बैठकमा समेत सिट भागबन्डाको मोडालिटी र संख्या तय गर्ने विषयमा लामो समयसम्म छलफल भएको थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा पूर्ववत् अडानबाट पछि नहटेपछि शीर्ष तहबाट पुनः निर्वाचन क्षेत्रअनुसार दुई दिनभित्र सिट बाँडफाँटको आधार ल्याउन भन्दै कार्यदललाई नै जिम्मा दिइएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*