माओवादीका महासचिब बनेका गुरुङको राजनीतिक यात्रा

तामसालिङ खबर
५ भाद्र २०७९, आईतवार ०७:०१

भदौं, काठमाडौ – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले देव गुरूङलाई महासचिव बनाएको छ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रचण्डले महासचिवमा देव गुरूङसहित २० पदाधिकारीको नाम प्रस्ताव गरेका थिए। बैठकले सर्वसम्मत रूपमा पदाधिकारी पारित गर्ने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महासचिव बनाएका गुरूङ नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक समेत हुन्। उनी लमजुङबाट निर्वाचित सांसद हुन्। माओवादी केन्द्रभित्र गुरूङ संसदीय मामिलाका जानकार र अध्ययनशील नेता मानिन्छन्।

वि.सं २०१५ कात्तिक २२ गते मनाङ, नाशोङ गाउँपालिका ४ मा जन्मेका गुरूङले स्नातकोत्तर गरेका छन् । विद्यार्थी राजनीतिबाटै मूलधारको राजनीतिमा सक्रिय भएका गुरूड संविधान र कानून निर्माणका विषयमा बढी चासो राख्छन्।

उनले २०३६ सालमा नेकपा (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरू गरेका हुन्। चौथो महाधिवेशनको परिवर्तित नाम नेकपा (मशाल) मा २०३८ सालमा उनी केन्द्रीय सदस्य बनेका थिए। त्यसपछि उनी २०५१ मा माओवादीमा आबद्ध भई पोलिटब्यूरो सदस्य चुनिए।

२०६१ मा तत्कालीन नेकपा माओवादीको स्थायी समिति सदस्य बने। २०७४ मा भने उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य बने। २०६३ को अन्तरिम संसदबाट उनले संसदीय राजनीतिको यात्रा सुरू गरे।

२०६४ सालमा कास्की र मनाङबाट निर्वाचित भएका गुरूङ २०६९ सालमा मोहन वैद्य, रामबहादुर थापा लगायतका नेतासँगै तत्कालीन एकीकृत माओवादीबाट बाहिरिएका थिए।

२०७० को निर्वाचन बहिष्कार गरेका गुरूङ २०७३ सालमा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएका हुन्। २०५२ सालमा माओवादी केन्द्रले ‘जनयुद्ध’ सुरू गर्दाको समयमा समेत उनी केन्द्रीय कमिटीमा थिए। उनी ‘जनयुद्ध’मा केही समय गिरफ्तारीमा परेका थिए।

२०६९ मा तत्कालीन सरकार र माओवादी केनद्रको दोस्रो चरणको वार्तामा उनी सदस्य थिए। त्यस्तै, माओवादी शान्ति प्रक्रियामा आउँदा समेत उनी वार्ता समिति सदस्य थिए।

माओवादी केन्द्रमा उनी चौथो वरीयताको नेता हुन्। वरीयता अनुसार जिम्मावारी दिने भन्दै प्रचण्डले गुरूङलाई महासचिव बनाएका हुन्।
गुरूङ शान्ति प्रक्रियामा आएपछि अवसर पाउने माओवादी नेताको सूचीमा पर्छन्। उनी दुई पटक स्थानीय विकास मन्त्री भएका छन् भने एकपटक कानुन मन्त्री भएका छन्।

प्रचण्डको कुनैबेला कट्टर आलोचक भनेर चिनिने गुरूङ २०७३ यता भने निकट भएका छन्। आफ्ना हरेक गतिविधिलाई साथ दिने भएर नै प्रचण्डले गुरूङलाई आफू पछिको शक्तिशाली महासचिव बनाइएको माओवादी वृत्तमा चर्चा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*