हेटौंडा उपमहानगरमा तीनपांग्रे सवारी व्यवस्थापन सुरु

तामसालिङ खबर
२० श्रावण २०७९, शुक्रबार ०५:४४

साउन, हेटौडा – हेटौंडा बजारमा देखिएको सवारीसाधनको चाप व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा तीनपांग्रे सवारीसाधनलाई व्यवस्थित गर्न सुरु गरेको छ ।

उपमहानगरले बिहीबारबाट आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमतिप्राप्त तीनपांग्रे सवारीसाधनलाई मात्र सञ्चालन अनुमतिसहितको स्टिकर प्रदान गर्न सुरु गरेको हो ।

उपमहानगरका प्रवक्ता सवीन न्यौपानेका अनुसार गत असार ३२ गते उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरीसहित सरोकारवालासँगको पटकपटकको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावको आधारमा कार्यपालिकाले यस्तो अभियान सञ्चालन गरेको हो ।

अभियानको उद्घाटन हेटौंडाकी मेयर मीना लामाले तीनपांग्रे सवारीमा स्टिरक टाँसेर सुरुवात गरेकी हुन् । २०७६ पुसको ७ गतेको बैठकबाट हेटौंडा उपमहानगर क्षेत्रमा थप तीनपांग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो ।

उक्त मितिपछि विभिन्न पालिका तथा अन्यत्र जिल्लामा सञ्चालन अनुमति परमिट लिएर हेटौंडा बजार क्षेत्रमा अनधिकृत रुपमा सञ्चालन भइरहेका तीनपांग्रे सवारीसाधनलाई निषेध गर्ने गरी उपमहानगर अगाडि बढेको हो ।

हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालनको अनुमति पाएका करिब ७ सय अटो तथा मयुरी भए पनि अहिले ३ हजारभन्दा बढी संख्यामा अटो तथा मयुरी सञ्चालनमा रहेको अनुमान गरिएको छ । स्टीकर टाँस्ने कार्यले उपमहानगरको राजश्व आम्दानी बढ्नुका साथै ट्राफिक व्यवस्थापन हुने नगर प्रमुख मीना कुमारी लामाको भनाइ छ ।

स्टीकर टाँस्न सुरुवात गर्ने कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, बागमती प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्य, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतम, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुनेन्द्र थापाको पनि उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*