साफ यू-२० च्याम्पियनसिप: भारत र बंगलादेश फाइनलमा, नेपाल बाहिरियो
साउन, काठमाण्डौ – साफ यू-२० च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेश भिड्ने भएका छन्।
मंगलबार राति भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा घरेलु टिम भारतले माल्दिभ्सलाई १-० गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो। भारतको जितमा खेलको अन्तिम मिनेटमा गुरकिरत सिंहले गोल गरेका थिए।
यसअघि नेपालसँग १-१ गोलको बराबरी खेलेको बंगलादेशले पनि फाइनलमा स्थान पक्का गरेको थियो । भारतले अन्तिम खेलमा जित हात पारेसँगै नेपाल भने फाइनल पुग्नबाट बन्चित भयो। भारत पराजित भएको अवस्थामा मात्र नेपाल फाइनल पुग्ने समिकरण थियो।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो। तर तेस्रो खेलमा आयोजक भारतसँग ८-० गोलले पराजित हुँदा नेपालको फाइनल पुग्ने सम्भावना कठिन भएको थियो।
अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेको नेपालले ७ अंक जोड्यो। शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्यो भने दोस्रो स्थानको भारतले ९ अंक बटुल्यो । पाँच टिम सहभागी प्रतियोगिताको समूह चरणका शीर्ष दुई टिम फाइनलमा पुग्ने प्रावधान थियो।