मकवानपुर गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

तामसालिङ खबर
२४ जेष्ठ २०७९, मंगलवार ०५:५२

जेठ, हेटौंडा – एपीएफ क्लवलाई हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लव हेटौंडामा जारी मकवानपुर गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा आर्मीले एपीएफलाई टाइब्रेकरमा हराएको हो । निर्धारित समय एक।एक गोलको बराबरी भएपछि आर्मीले टाइब्रेकरमार्फत सेमीफाइनल यात्रा तय गरेको हो।

टाइब्रेकरमा आर्मीका लागि दीपक गुरुङ, सिमान्त थापा मगर, दिनेश हेन्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गर्दा एपीएफका नविन लामा, सुदिप शिख्राकार, रवि थिङ र सनिस श्रेष्ठले गोल गरेका थिए। मणिकुमार लामाको प्रहार भने आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरेका थिए ।

खेलमा आर्मीले सुरुवाती अग्रता लिएपनि अतिरिक्त समयको अन्तिममा एपीएफले बराबरी गोल गरेको थियो । आर्मीका लागि ७६ औं मिनेटमा पेनाल्टीमार्फत दिनेश हेन्जनले गोल गरेका थिए ।

एपीएफका कप्तान तोपबहादुर बिष्टले आर्मीका सन्तोष केसीलाई डीबक्स क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीलाई हेन्जनले गोलमा परिणत गरेका हुन् । त्यसअघि खेलको ४० औं मिनेटमा प्राप्त पेनाल्टीलाई भने आर्मीले गोल गर्न सकेन । विवेक बस्नेतको पेनाल्टी प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाएका थिए । अतिरिक्त समयको केही सेकेण्ड बाँकी रहँदा एपीएफका वैकल्पिक खेलाडी युवराज खड्काले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

निकै प्रस्पिर्धात्मक विभागीय भिडन्तले दुवै टिमले केही राम्रा अवसरहरु खेर फालेको थियो । खेलको म्यान अफ द म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

जारी प्रतियोगितामा आज मनाङमर्स्याङ्दी क्लव र नेपाल पुलिस क्लवको बीचमा खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण यही बैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*