फ्रेण्ड्स क्लवलाई ३-० गोलले पाखा लगाउँदै एपीएफ विजयी
जेठ, हेटौडा – हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लवले विजयी सुरुवात गरेको छ ।
आज बिहान सम्पन्न खेलमा फ्रेण्ड्स क्लवलाई ३–० गोलले पाखा लगाउँदै एपीएपफ क्लव विजयी भएको हो । जितको लागि एपीएफको तर्फबाट खेलको पहिलो हाफको २९ औँ मिनेटमा नविन लामाले दोस्रो हाफको ३१ औँ मिनेटमा सविन गुरुङले र खेलको अन्तिम मिनेटमा मकवानपुरे खेलाडी रबी थिङले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच एपीएफ क्लवका प्रदिप लामा घोषित भए । उनले नगद दश हजार प्राप्त गरे । शनिबार हुने खेल अविरल वर्षाका कारण रोकिएको थियो । उक्त खेल आज बिहान भएको थियो ।
यसैगरी आज आइतबार अपरान्ह् भने नेपाल पुलिस क्लव र खुमलटार युवा क्लवबीच खेल हुनेछ । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ ।
प्रतियोगितालाई जिल्लाको १० वटै पालिकाले आर्थिक सहयोग गरेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।