बैशाख ३० गते मतदानको दिन खोप केन्द्र सञ्चालन हुँदैन – स्वास्थ्य मन्त्रालय
बैशाख, काठामाडौ – सरकारले स्थानीय तह निर्वाचन मतदान केन्द्रसँगै कोरोनाविरुद्धको खोप केन्द्र सञ्चालन नगर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचनको दिन मतदान केन्द्र नजिक खोप दिइने पूर्व घोषित सूचनालाई सच्याएको हो ।
यसअघि स्वास्थ्य मन्त्रालयले बैशाख ३० गते १८ बर्ष माथिका नागरिकलाई पूर्ण खोप, खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन मतदानस्थल नजिकै खोप केन्द्र सञ्चालन गरिने जानकारी दिएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. संगिता कौशल मिश्राद्धारा विज्ञप्तिमा ‘निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरुमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचन दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाइ हुने भएकाले सो दिन खोप सञ्चालन नहुने जनाकारी गराइन्छ ।’