गठबन्धन बाहिर प्रचार गर्ने कार्यकर्तालाई कारबाहीको चेतावनी

तामसालिङ खबर
२५ बैशाख २०७९, आईतवार ०६:५२

बैशाख, हेटौंडा – नेपाली कांग्रेस मकवानपुरले गठबन्धनका साझा उम्मेदवारको पक्षमा लाग्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ । आफ्ना गठबन्धनका उम्मेदवारभन्दा बाहिरका उम्मेदवारको प्रचार प्रसारमा लाग्ने नेता कार्यकर्तालाई कारबाही गर्ने कांग्रेस मकवानपुरले चेतावनी दिएको छ ।

कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईले शनिबार पत्रकार सम्मेलनमार्फत पार्टी हित विपरित र गठबन्धनको नीति विपरित आफ्ना निजी दृष्टिकोण प्रस्तुत गर्ने सम्पूर्ण क्रियाशिल सदस्य तथा नेता कार्यकर्ताहरुलाई त्यस्ता कार्यलाई बन्द गर्न निर्देशन दिइएको जानकारी गराएका हुन् ।

‘मकवानपुर जिल्लाको १० वटै स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारको पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ताहरुलाई वक्तव्य मार्फत निर्देशन गरिन्छ । साथै यस जिल्लाका १०२ वटा वडा मध्ये केही वडाहरुमा सहमति हुन नसकेता पनि सहमति नभएका वडा तहमा मित्रवत प्रतिस्पर्धा गर्न र पालिका स्तरमा गठबन्धनका साझा उम्मेदवारका पक्षमा सशक्त ढंगले परिचालित हुन पाँचै दलका नेता कार्यकर्ताहरुमा विज्ञप्ती मार्फत अपिल गरिन्छ ।’ प्रवक्ता चौलागाईले जारी गरेको विज्ञप्तिमा भनिएको   छ ।

निर्वाचन प्रचार प्रसारका क्रममा राष्ट्रसेवक कर्मचारीहरु खुलेआम सामाजिक सञ्जाल, ¥याली, घरदैलो कार्यक्रममा अमुक राजनीतिक दलको प्रचारप्रसारमा संलग्न भएकोप्रति नेपाली कांग्रेस मकवानपुरले ध्यानाकर्षण भएको समेत जनाएको छ । उम्मेदवारको पक्षमा प्रचारप्रसारमा लाग्ने राष्ट्रसेवक कर्मचारीलाई तत्काल कारबाही गर्न जिल्ला निर्वाचन कार्यालयलाई ध्यानाकर्षणसमेत गराइएको छ ।

मकवानपुर जिल्लामा पार्टीका उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गर्ने, अन्य पार्टीका उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्ने पार्टीका उम्मेदवार र पार्टी हित विपरित कार्य गर्ने पार्टीका क्रियाशिल सदस्यहरुलाई नेपाली कांग्रेस जिल्ला अनुशासन समिति मकवानपुरले तत्काल निलम्बन गर्नसक्नेतर्फ सचेत गराइएको पार्टी अनुशासन समितिका संयोजक प्रभातकुमार दाहालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*