गाडी सुविधा नलिने, तलबभत्ता सामाजिक काममा खर्चिने अध्यक्षका उम्मेदवार कालाखेतीको घोषणा

तामसालिङ खबर
२४ बैशाख २०७९, शनिबार ०८:५४

बैशाख, हेटौडा (मनहरी) – सत्ता गठबन्धन दलकाे समर्थनमा नेपाली कांग्रेसका तर्फबाट मनहरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रन्जन कालाखेतीले आफू गाउँपालिकाका अध्यक्ष निर्वाचित भए सरकारी गाडी सुविधा नलिने तथा तलब भत्ता सामाजिक काममा खर्च गर्ने घाेषणा गरेका छन् ।

शुक्रबार रजैयामा पत्रकारहरुसँगकाे भेटमा अध्यक्षका उम्मेदवार कालाखेतीले गाउँबासीहरुले सहज स्वास्थ्य सेवा तथा एम्बुलेन्स सेवा पाउन समेत सकस परिरहेकाे अवस्थामा आफूले नैतिकताका आधारमा सरकारी गाडी त्याग्ने निर्णय गरेकाे बताए ।

आफू निर्वाचित भएर आएपछि प्राप्त हुने सबै तलब भत्ता आवश्यकताका आधारमा सामाजिक सेवामा खर्च गर्ने र त्यसकाे स्पष्ट हिसाब समेत सार्वजनिक गरिने उनले बताए ।

गठबन्धनकाे मूल मर्म र भावनालाई आत्मसात गर्दै आफूहरु निर्वाचनमा हाेमिएकाे भन्दै आफू निर्वाचित भएपछि पनि सबैलाई समेटेर अघि बढ्ने कालाखेतीले प्रतिवद्धता व्यक्त गरे । गठबन्धनका तर्फबाट आफूहरुले गरेका प्रतिवद्धताहरु आफ्नाे कार्यकालभर पूरा गरेरै छाड्ने पनि उनले बताए ।

गाउँकाे परिवर्तन र विकासकाे लागि आफ्नो उम्मेदवारी भएकाे भन्दै आफूहरुले प्राविधिक शिक्षा र कृषिकाे यान्त्रीकरणमार्फत राेजगारी सिर्जना गरिने बताए । ‘धेरै युवाहरु राेजगार नपाएर विदेशिनु परिरहेकाे छ, उनीहरुलाई रुचिअनुसारकाे सीप सिकाउने तथा कृषि कर्ममा लगाएर स्वदेशमै अवसर प्राप्त गर्ने वातावरण मिलाउनु मेराे ध्येय हाे ।’ अध्यक्षका उम्मेद्वार कालाखेतीले भने ।

आफूले जिते किसानका लागि रासायनिक मलदेखि उन्नत बिउबिजनको व्यवस्था र तरकारीको उचित मुल्य प्राप्त गर्नको लागि कोल्डस्टोरको स्थापना गरी किसानलाई राहत दिने उनले बताए ।

गठबन्धनकाे समर्थनमा माओवादी केन्द्रबाट गाउँपालिका उपाध्यक्षकी उम्मेद्वार सीता पुलामी मगरले मुलुककाे वर्तमान व्यवस्था र संविधानकाे रक्षाकाे निम्ति गठबन्धन भएकाे स्मरण गर्दै गठबन्धनकाे भावना अनुरूप नै मत लिन र दिन आफूहरु तयार रहेकाे स्पष्ट पारिन् । गाउँकाे समृद्धि र विकास आफूहरुकाे पहिलाे प्राथमिकता रहेकाे पुलामीले बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्ताैला, नेकपा माओवादी केन्द्र मनहरीका निर्वाचन परिचालन समिति संयाेजक बीरबहादुर घलान ‘ज्वाला’, ज्येष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य रामहरि सुवेदी, कांग्रेसबाट मनहरी गाउँपालिका ५ का वडाध्यक्षका उम्मेद्वार याेगेन्द्रबहादुर अर्याल लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*