बकैयामा गठबन्धनको चुनावी प्रचार घरदैलो तीव्र

तामसालिङ खबर
२३ बैशाख २०७९, शुक्रबार ०७:५८

बैशाख, हेटौडा (बकैया) – मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनको चुनावी प्रचार जारी रहेको छ । विभिन्न वडाहरुमा घरदैलो तथा अगुवा कार्यकर्ता भेटघाट गर्दै गठबन्धनका उम्मेदवारले विहीबार भने वडा नम्बर ११ ठिङगनको वाईवा लोसेमा संयुक्त चुनावी सभा गरेको छ ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार धर्मराज लामिछानेले कान्तिराजपथ सँग जोडिएको यस वडालाई कृषि, पर्यटनको विकासका साथै थप सडक सञ्जाल जोडेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले गठबन्धन बलियो भएकाले जीत सुनिश्चित रहेको बताउउँदै लामिछानेले वडामा रहेका युवालाई युवा लक्षित कार्यक्रमहरु ल्याई स्वरोजगार बनाउन आफ्नो पहिलो प्राथमिकता रहेको बताए । विजुली बत्ति, खानेपानी, शिक्षा तथा स्वास्थ्यका क्षेत्रको सेवाको विस्तार गर्ने र गाउँपालिकालाई आर्थिक समृद्धिको दिशातर्फ लैजाने बताएका   थिए ।

कार्यक्रमलाई उपाध्यक्ष पदका उम्मेदवार भक्त बहादुर खत्रीले गठबन्धनको जीत नजिक रहेकोले अब गाउँपालिकामा विकासको लहर सबै वडाहरुमा हुने बताएका छन् ।कार्यक्रममा वडा अध्यक्ष पदका कांग्रेसका उम्मेदवार गोपाल न्यासुर, सदस्य पदका उम्मेदवारहरुले आफ्नो वडा बनाउनको लागि प्रतिवद्धता व्यक्त गर्दै आफ्नो भनाइ राखेका थिए । आजै उम्मेदवारहरुले वडा नम्बर ६ सुदामा समेत घरदैलो गरेका छन् ।

घरदैलो सहित बकैयामा मतदाता शिक्षा समेत दिइदैं आइएको छ । तामाङ समूदाय बढी रहेकाले तामाङ भाषामा समेत मतदाता शिक्षा दिएको प्रदेश (क) सचिव भूमिनन्द गौतमले बताए । शुक्रबार (आज) धियाँल, दोभान, भीरकोट र हात्तिसुढेँका विभिन्न स्थानहरुमा घरदैला तथा चुनावी सभाहरु हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*