मकवानपुरमा २ हजार ३५ जनाको उम्मेदवारी दर्ता

तामसालिङ खबर
१४ बैशाख २०७९, बुधबार १२:४६

बैशाख, हेटौंडा – यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुर जिल्लामा २ हजार ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १० वटा स्थानीय तह रहेको मकवानपुरमा स्थानीय तहको प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरुका लागि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

मकवानपुरमा स्थानीय तहको प्रमुखमा २५ र उपप्रमुखमा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । जिल्लाका हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिकाका लागि प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता भएको हो ।

८ वटा गाउँपालिकाको अध्यक्षका लागि ५८ र उपाध्यक्षका लागि ३६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मंगलबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार मकवानपुर जिल्लाको १० वटै पालिकाको १ सय २ वडाको वडा अध्यक्षमा ४ सय ८१, महिला सदस्यमा ३ सय ५५, दलित महिला सदस्यका लागि ३ सय ८ र सदस्यका लागि ७ सय ६० जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगले गत आइतबार र सोमबार प्रत्येक पालिकामा निर्वाचन अधिकृतको कार्यालयमार्फत् उम्मेदवारी दर्ता गरेको हो । जिल्लाका १० वटा स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी २० जना, वडा अध्यक्षहरु १ सय २ जना र वडा सदस्यहरु ४ सय ८ जना गरी ५ सय ३० जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

हेटौंडाको मेयरमा २१ र उपमेयरमा ११ जनाको मनोनयन दर्ता
स्थानीय तह निर्वाचन २०७९ को लागि हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि २१ जनाले र उपमेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले तय गरेको मनोनयन दर्ता अवधिमा आइतबार र सोमबार मेयर र उपमेयर पदका आकांक्षीहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

मेयर पदका लागि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट अनन्तप्रसाद पौडेल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट मीनाकुमारी लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, जनता समाजवादी पार्टी नेपालको तर्फबाट दीपा लामा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सञ्जीव खराल, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंहले मनोनयन दर्ता गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी)बाट केशव घर्ती, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, मौलिक जरोकिलो पार्टीबाट सृजना बर्तौला, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)बाट रोमनाथ भुर्तेल, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टराईले हेटौंडाका मेयरका लागि मनोनयन दर्ता गरेका छन् ।

यस्तै, मेयर पदका लागि ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सञ्जय खरेल, सुरक्षा रिजाल, पुरुषोत्तम रुपाखेती, कविराज पाठक, प्रदिप ढकाल, देवराज पौडेल, लीलाकुमारी आचार्य, विश्वनाथ पाण्डे, उत्तमकुमार दुलालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । हेटौंडा उपमहानगरपालिकाको उपमेयरका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट सुमित्रा काफ्ले, नेपाली कांग्रेसबाट राजेश बानियाँ, जनता समाजवादी पार्टीबाट हरिहर खतिवडा, लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमैया श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट इन्दिरा न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी)बाट अम्बिका लामिछाने, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)बाट मखकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठकले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, उपमेयरका लागि २ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

राक्सिराङको अध्यक्षमा ७ जनाको उम्मेदवारी दर्ता
मकवानपुरको राक्सिराङ गाउँपालिकामा अध्यक्ष पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार र सोमबार अध्यक्षका लागि सात जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उम्मेदवारमध्ये दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि मंगोल नेशनल अर्गनाइजेसनबाट युनिस मोक्तान, जनता समाजवादी पार्टीबाट यसकुमार प्रजा, नेकपा एमालेबाट बाबुलाल स्याङ्तान, नेपाली कांग्रेसबाट राजकुमार मल्ल र नेकपा एकीकृत समाजवादीको तर्फबाट कृष्णबहादुर प्रजाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै स्वतन्त्रबाट समाज लामा थिङ र हस्तबहादुर मोक्तानले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, उपाध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षका लागि नेकपा एमालेबाट सुन्तलीमाया प्रजा, नेकपा माओवादी केन्द्रबाट वनस्तम थिङ र नेकपा एकीकृत समाजवादीका तर्फबाट मिलनकुमारी तामाङले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै स्वतन्त्रबाट निर्मला डिमडुङले उम्मेदवारी दर्ता गराएका छन् । राक्सिराङमा १ सय ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

भीमफेदीको अध्यक्षमा ६ जनाको उम्मेदवारी
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भीमफेदी गाउँपालिकाको अध्यक्षमा ६ जनाले र उपाध्यक्षमा ३ जनाले निर्वाचन अधिकृतको कार्यलयमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

अध्यक्षमा नेकपा एमालेबाट हिदम लामा, मंगोल नेशनल अर्गनाइजेसनबाट बिक्रम थिङ, नेकपा माओवादी केन्द्रबाट बद्रीबहादुर स्याङ्तान, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सुन्दर कुँवर, नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर थापा मगर र स्वतन्त्रबाट दीपक पुडासैनीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यस्तै उपाध्यक्षमा नेकपा एमालेबाट पार्वती राना, नेपाली कांग्रेसबाट सञ्जीव क्षेष्ठ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सानुमैया भुलुनले मनोनयन दर्ता गराएका छन् । पालिकामा १ सय ३६ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

बकैयाको अध्यक्षमा ८ र उपाध्यक्षमा ६ जनाको मनोनयन दर्ता
मकवानपुरको बकैया गाउँपालिकामा बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ८ जना अध्यक्ष र ६ जना उपाध्यक्षले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

नेकपा एमालेबाट सरला बोलखे, नेपाली कांग्रेसबाट धर्मराज लामिछाने, नेकपा माओवादी केन्द्रबाट लक्ष्मीमाया माझी, जनता समाजवादी पार्टीबाट मानबहादुर माझी, नेकपा एकीकृत समाजवादीबाट नारायणप्रसाद तिमल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामप्रसाद दाहाल, नेपाल कम्युनिष्ट पार्टीबाट कुमारबहादुर सञ्जेल र स्वतन्त्रबाट कृष्ण घिमिरेले गाउँपालिका अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका हुन् ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेबाट लालबहादुर स्याङ्तान, नेपाली कांग्रेसबाट छावा अधिकारी, नेकपा माओवादी केन्द्रबाट भक्तबहादुर खत्री, नेकपा एकीकृत समाजवादीबाट उर्मिला राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट साबित्री राईले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । बकैयामा २ सय ५३ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

कैलाशमा १ सय ७४ जनाको उम्मेदवारी
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलाश गाउँपालिकामा १ सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ । गाउँपालिकाको अध्यक्षमा ५ जना र उपाध्यक्षमा ४ जनाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल मजदुर किसान पार्टीबाट सन्तमाया बुढाथोकी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सन्तबहादुर रुम्बा, नेपाली कांगे्रसबाट लोकबहादुर मोक्तान, नेकपा एमालेबाट नरेन्द्रलाल रिजाल र नेकपा एकीकृत समाजवादीबाट टेकबहादुर मोक्तानले कैलाश गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै, गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्वती लामा, नेकपा माओवादी केन्द्रबाट बालकुमार मल्ल ठकुरी, स्वतन्त्रबाट श्याम उप्रेती र नेकपा एमालेबाट सुकुमाया थिङले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

मनहरीको अध्यक्षमा ११ र उपाध्यक्षमा ७ जनाको मनोनयन दर्ता
स्थानीय तहको निर्वाचन अन्तर्गत् मनहरी गाउँपालिकाको अध्यक्ष पदका लागि ११ जनाको मनोनयन दर्ता भएको छ । उपाध्यक्ष पदका लागि ७ जनाले मात्रै मनोनयन दर्ता गरेका छन् ।

नेपाली कांग्रेसबाट रञ्जन कालाखेती, नेकपा एमालेबाट एकराज उप्रेती, नेकपा एकीकृत समाजवादीबाट नारायण श्रेष्ठ, नेपाली कांग्रेस (बीपी) बाट शंकर न्यौपाने, जनता समाजवादी पार्टीबाट गब्रेल प्रजा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रबहादुर पौडेल, सचेत नेपाली पार्टीबाट नवराज आचार्यको मनोनयन दर्ता भएको छ । स्वतन्त्रबाट साधुराम अधिकारी, रामप्रसाद कालाखेती, साधुराम पोखरेल र श्यामकृष्ण बर्तौलाले मनोनयन दर्ता गराएका छन् ।

उपाध्यक्ष पदका लागि नेकपा (एकीकृत समाजवादी)बाट मनिला विष्ट, नेकपा माओवादी केन्द्रबाट सीता पुलामी मगर, नेकपा एमालेबाट सुजिता थिङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मायाकुमारी न्यौपाने, नेकपा मालेबाट शिवहरि उप्रेती, नेपाली कांग्रेस (बीपी)बाट जानुकी लामा र स्वतन्त्रबाट भूमिनन्दन अर्जेल क्षेत्रीले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ईन्द्रसरोवरको अध्यक्षमा ७ जनाको मनोनयन दर्ता
स्थानीय तह निर्वाचनमा ईन्द्ररोवर गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जना र उपाध्यक्षका लागि ४ जनाले मनोनयन दर्ता गराएका छन् । नेकपा एकीकृत समाजवादीबाट जीवन लामा, जनता समाजवादीबाट देवकुमार लामा, नेकपा एमालेबाट देवकृष्ण पुडासैनी, कांग्रेसबाट विश्वलाल लामा र राप्रपाबाट शुकबहादुर लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट उमाकुमारी लामा, नेपाली कांग्रेसबाट निर्मला रुम्बा र जसपाबाट रस्मिला घिसिङले मनोनयन दर्ता गराएका हुन् । कुन्साङ लामा र दीपकबहादुर ठकुरीले अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् भने कमलबहादुर घिसिङले उपाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

थाहा नगरपालिकाको प्रमुखमा ६ जनाको उम्मेदवारी
मकवानपुर पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको प्रमुख पदमा ६ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुख पदमा २ जनाको मात्र उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस (बीपी)बाट वीरबहादुर भोम्जन, मंगोल नेशनल अर्गनाइजेसनबाट राजकुमार गोले, नेकपा एमालेबाट अच्युतमप्रसाद ढकाल, नेकपा माओवादी केन्द्रबाट विष्णुबहादुर बिष्ट, राष्ट्रिय जनमोर्चाबाट शुभराज गोले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बसुन्धरा पुडासैनीले थाहा नगरपालिकाको मेयरका लागि उम्मेदवार मनोनयन दर्ता गराएका छन् ।

यस्तै उपमेयरमा नेकपा एमालेबाट कल्पना बलामी र नेपाली कांग्रेसबाट भरत गोपालीले मनोनयन दर्ता गराएका हुन् । थाहा नगरपालिकामा २ सय ५४ जनाले मनोनयन दर्ता गराएका छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्रसहित १२ जना वडा अध्यक्ष पदका लागि ५८ जनाले उम्मेदवारी दिएका छन् । राजनीतिक दलहरुका अनुसार वडा नम्बर १ मा ४ जना, वडा नम्बर २ मा ६, वडा नम्बर ३ मा ५, वडा नम्बर ६ मा ५ जनाको उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर ७ मा ७ जना, वडा नम्बर ८ मा ५, वडा नम्बर ९ मा ५, वडा नम्बर १० मा ४, वडा नम्बर ११ मा ६ र वडा नम्बर १२ मा २ जनाको उम्मेदवारी परेको छ । थाहानगरका १२ वटै वडाका महिला सदस्यका लागि ४६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै १२ दलित महिला सदस्यका लागि ३८ जनाको र २४ जना वडा सदस्यका लागि १ सय ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

मकवानपुरगढी गाउँपालिका अध्यक्षमा ६ जनाको उम्मेदवारी
मकवानपुरगढी गाउँपालिकामा १ सय ४५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । ८ वटा वडा रहेको गाउँपालिका मा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य पदमा १ सय ४५ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत नारनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट विदुर हुमागाई, नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तान, राप्रपाबाट विजयसिंह ठकुरी, मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामा, स्वतन्त्रबाट कृष्णप्रसाद कँडेल र युवराज तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्ष पदमा भने तीन जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट सन्तु थिङ, माओवादी केन्द्रबाट मानकुमारी पाख्रिन (नेपाली) र राप्रपाबाट हीरादेवी हुमागाईंले उम्मेदवारी दर्ता गराएका छन् । ८ वटा वडाका लागि विभिन्न दलहरु र स्वतन्त्र गरी ३७ जनाले वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

महिला सदस्यमा २५ जना, दलित महिलामा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडा नम्बर ७ का लागि भने दलित महिला सदस्यमा एक जनाको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत पोखरेलले बताउनुभयो । ७ नम्बर वडाको दलित महिला सदस्यमा तीर्थकुमारी ल्वागुनको मात्र उम्मेदवारी परेकोले प्रक्रिया पूरा भएपछि निर्विरोध घोषणा गरिने जनाइएको छ । वडा सदस्य खुलामा ५६ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार दावी विरोध, उम्मेदवारी फिर्तालगायतको कार्यसँगै १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*