नेपालका ६ आयोजनाको बिजुली भारतमा बिक्री हुने

रासस
२३ चैत्र २०७८, बुधबार १७:४६

चैत्र, काठमाण्डौ – नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२६ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा थप ३२६ मेगावाट विद्युत बिक्री गर्न स्वीकृति दिएको छ।

यसअघि गत कात्तिकमा पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युतगृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिक्री गर्न स्वीकृति दिइएको थियो। यी दुबै परियोजनामा भारतको लगानी रहेको थियो।

भारतले यसपालि एसियाली विकास बैंक, जर्मनीको पनि लगानी र निजी क्षेत्रबाट बनेका आयोजनाको बिजुली लैजान सहमति जनाएको हो।
यो सहमतिसँगै नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिश्पर्धी दरमा ३६५ मेगावाटसम्म विद्युत बिक्री गर्न प्रवेश पाउने भएको छ।

प्राधिकरणले दोस्रो चरणमा प्राधिकरणको स्वामित्वको १४४ मेगावाटको कालीगण्डकी एबाट १४० मेगावाट, ७० मेगावाटको मध्यमर्स्याङ्दीबाट ६८ मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दीबाट ६७ मेगावाट र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को ५२.४ मेगावाटको लिखु-४बाट ५१ मेगावाट गरी कूल ३२६ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।

जडित क्षमता बढी भए पनि आयोजना स्थलबाट भारतको मुजफ्फपुरसम्म पुर्‍याउँदा तीन प्रतिशतसम्म बिजुली खेर जाने अनुमान गरेर निर्यात हुने मेगावाट कम निर्धारण गरिएको हो।

प्राधिकरणले योसँगै ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि स्वीकृति पाएको हो। देशभित्र खपत गरेर जगेडा भएको विद्युत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात हुने छ।

प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणकाक्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहयोग सम्बन्धी ‘नेपाल–भारत संयुक्त भिजन’ जारी भएको थियो। दुई मुलुकका प्रधानमन्त्रीको ऊर्जा क्षेत्रमा सहयोग सम्बन्धी प्रारूपमार्फत उच्च राजनीतिक तहमा प्रतिबद्धता आएको थियो।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि स्वीकृति पाएसँगै ऊर्जा क्षेत्रको सहयोग सम्बन्धी भिजन डकुमेन्ट कार्यान्वयनको पहिलो खुड्किलोतर्फ अगाडि बढेको बताइन्।

‘वर्षायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरी जगेडा भएमा खेर जाने अवस्था थियो, अब जगेडा विद्युत बिक्रीका लागि बजार सुनिश्चित भएको छ, यसबाट दुई देशबीचको व्यापार घाटामा केही कमी आई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने छ’, मन्त्री भुसालले भनिन्, ‘दुई मुलुकबीच उच्च राजनीतिक तहमा ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी भिजन डकुमेन्टको कार्यान्वयन पनि सुरू भएको छ, यसमा संलग्न सबैलाई बधाई र धन्यवाद दिन चाहन्छौं।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट थप स्वीकृति सहमति प्राप्त भएसँगै नेपाल-भारतबीचको सम्बन्धमा इँटा थपिएको बताए। उनले प्रधिकरणले प्रस्ताव गरेका माथिल्लो तामाकोशी, चमेलियालगायतका अन्य आयोजनाको विद्युत पनि भारतीय बजारमा निर्यातका लागि छिट्टै स्वीकृति पाउने र अन्य आयोजनाको विद्युत बिक्रीको प्रस्ताव गरिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*