दिल्लीमा हरेक दिन दुईवटा उडान हुने – पर्यटनमन्त्री आले

तामसालिङ खबर
१६ चैत्र २०७८, बुधबार १७:४४

चैत्र, काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताएका छन् । बुधबार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान गर्न लागिएको बताएका हुन् ।

उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तिनवटा उडान भर्ने गरी अगाडि बढेको जानकारी दिए । मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीन वटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तीन वटा उडान भरिएको बताए ।

उनले भने, ‘हामीले २१ मार्च देखि मुम्बईमा ३ वटा उडान हप्तामा हामी गर्दैछौँ नेपाल एयरलाइन्सको जहाजले । त्यस्तै २५ मार्च देखि हामी बैङ्लोरमा हप्तामा ३ वटा फ्लाइट हामी गर्दैछौँ । १ अप्रिलबाट जापानको नारितामा दुईवटा उडान भर्दैछौँ ।

दिल्लीमा हरेक दिन दुईवटा फ्लाइट हुनेगरी हामी हप्तामा १४ वटा फ्लाइट गर्दैछौँ । त्यस्तै बैंकक हप्तामा दुईवटा गर्दैछौँ । अनि दुबई, दोहा, हङकङ नियमित उडान भइरहेको छ । म यहाँहरुलाई जानकारी गराउन चाहान्छु । र यही १५ अप्रिल साउदी अरेबियाको रियादमा पनि हप्तामा तीनवटा उडान भर्नेगरी हामी अगाडि बढाउँदै छौँ ।’

मन्त्री आलेले आफूले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताए । पहिले ४देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उनले उल्लेख गरे । उनले खतरायुक्त सामग्रीहरु ल्याउने सर्टिफिकेट पनि नेपाल एयरलाइन्सले प्राप्त गरेको बताए ।

उनले भने, ‘जहाजहरु अहिले ग्राउन्डेड होइन अधिकतम समय आकाशमा उडाउने कामहरु भएको छ । विगतमा नेपाल एयरलाइन्सका जहाजलाई घाममा सुकाउने अवस्थामा थियो । तर अहिले अधिकांश पहिला ४ देखि ५ घण्टा उडान गर्ने जहाज अहिले करिब १० देखि १३ घण्टा हामीले उडाइ राखेका छौँ ।

६३ वर्षको इतिहासमा डेन्जरस् गुड क्यारी गर्ने सर्टिफिकेट नेपाल एयरलाइन्सले प्राप्त गरेको छ । वायु सेवा निगमले विश्वका १४ वटा अन्तर्राष्ट्रिय एयरलाइन्ससित एसपीए बाट संसारको ३१ वटा प्रसिद्ध शहरहरुमा नेपाल वायु सेवा निगमका टिकटहरुबाट यात्रुहरुको उडान सकिने व्यवस्था मिलाएको कुरा पनि म यहाँहरुलाई जानकारी गराउन चाहान्छु ।’

मन्त्री आलेले क्यासिनोहरुको रोयल्टी र नवीकरण तथा अन्य होटल व्यवसायमार्फत् दस्तुरमार्फत् सरकारले १ अर्ब रुपैयाँ संकलन गरेको बताए । रोयल्टी रकम बुझाउन अटेर गर्ने ३ वटा क्यासिनोको लाइसेन्स रद्द गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*