देशको रक्षा र स्थायित्वका लागि कांग्रेस सँग सहकार्य : नेता गुरुङ

रासस
९ चैत्र २०७८, बुधबार ०७:०२

चैत्र, काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश र संविधानको रक्षा तथा स्थायित्वका लागि माओवादीले नेपाली काँग्रेससँग सहकार्य गरेर अघि बढेको बताएका छन् ।

पोखरामा आजदेखि सुरु भएको माओवादी केन्द्र गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै उनले काँग्रेस सँगको सहकार्यमा संविधान ध्वस्त पार्ने र संघीयतालाई असफल पार्ने योजनालाई परास्त गरिएको उल्लेख गरे ।

उनले भने, “माओवादीको पहल कदमीमा काँग्रेस सहितका शक्तिसँग मिलेर प्राप्त उपलब्धिको रक्षाका लागि अहिलेको गठबन्धन बनेको हो ।” नेपालमा स्थिरता र स्थायित्व कायम गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको नेता गुरुङको भनाइ थियो ।

आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा लोकतन्त्रको रक्षाका लागि माओवादीले जित्नैपर्ने उल्लेख गर्दै नेता गुरुङले भने, “माओवादीले जितेन भने देशको संविधान र संघीयता धरापमा पर्छ ।

अहिलेको सबै खालको परिवर्तन माओवादीको एजेण्डा भएकाले यसको रक्षाका लागि माओवादीले जित्नुको विकल्प छैन ।” आगामी स्थानीय तहको निर्वाचनमा माओवादी अरुसँगको तालमेलमा भर पर्न नहुने उनको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*