ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?

पत्रपत्रिकाबाट
१४ मंसिर २०७८, मंगलवार ०७:५०

मंसिर, काठमाडौं – भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १०औं महाधिवेशन ‘सहमति’को बन्न सकेन । अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो। आखिर रावलले केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिने र चुनावमै भिड्ने अडान किन राखे त ? भन्ने जिज्ञासा पैदा भएका छन्।

विगतमा माधव नेपाल निकट रावल ओली पार्टी अध्यक्ष भएपछि उनीसँग पनि निकट बने। त्यतिबेला नेपाल पक्षले बोलाएका गुटगत छलफल, बैठक र रणनीतिमा पनि रावल सहभागी हुँदैनथे। गुटको भेलामा किन नआएको भनेर प्रश्न गर्ने नेपाल पक्षलाई रावलको जवाफ हुन्थ्यो, ‘महाधिवेशनमा गुट हुन्छन्। त्यसपछि जो नेतृत्वमा आउँछ, उसलाई सघाउनुपर्छ।’ मन जितेकै कारण ओली पहिलोपटक प्रधानमन्त्री हुँदा रावल उपप्रधान तथा रक्षामन्त्री बने। २०७५ जेठ ३ मा माओवादीसँगको पार्टी एकतापछि भने रावल र ओलीबीच सम्बन्ध राम्रो बनेन। ९औं महाधिवेशनबाट सर्वाधिक मत ल्याएर उपाध्यक्ष जितेका रावलले त्यतिबेलाको पार्टीको शक्तिशाली एवं कार्यकारी बोर्ड (सचिवालय) मा नपरेपछि असन्तुष्टि जनाए।

कुनै बेला ओलीसँग यति धेरै तिक्तता बढेको थियो कि, पार्टीमा ‘ओली र रावल’ को भेट नै हुँदैन होला भन्नेसम्मका अनुमान हुन्थे। ०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरिदियो। तर, एमालेभित्रको विवाद साम्य भएन। वरिष्ठ नेता नेपाल र ओलीपक्षबीच दूरी बढ्यो। ओलीलाई प्रधानमन्त्रीबाट हटाउन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि परमादेशको माग गर्दै कांग्रेससँग मिलेर नेपाल पक्ष पनि सर्वोच्च गयो। त्यतिबेला पनि रावल ओलीप्रति निकै आक्रामक थिए। पार्टीमा चर्को विवादबीच ओली र रावलको एक्लाएक्लै भेटवार्ता भयो।

रावल ‘युटर्न’ भए र पार्टी एकता गर्न बनेको कार्यदलमा नेपाल पक्षको संयोजक बने। पार्टी एकतालाई जसरी पनि जोगाउनुपर्छ भनेर रावल जोडतोडले लागे। १० बुँदे सहमति भयो। पार्टी विभाजन गर्न वरिष्ठ नेता नेपालले गरेको प्रस्ताव ठाडै अस्विकार गरे। अनि रावल एमालेमै बसे। सुदूरपश्चिम प्रदेशमा १७ मध्ये १३ सांसद रावल पक्षका थिए। तर, रावल एमालेमै फर्केपछि १३ जनाले साथ छोडे। ४ जना मात्र प्रदेश सांसद उनको पक्षमा उभिए।

एमालेमै बसे पनि रावल र ओलीबीच सम्बन्ध सुमधुर बन्न सकेन। रावललाई सुदूरपश्चिम इञ्चार्जको पूर्ववत् जिम्मेवारी दिइएन, कैलालीलगायत जिल्लामा आफू पक्षधरलाई महाधिवेशन प्रतिनिधि बन्नैबाट रोक लगाइएको भन्दै रावलले अध्यक्ष ओलीसमक्ष उजुरी गरे। तर, सुनुवाइ भएन।

‘आफ्ना’ ले साथ छोडेको र एमालेमा पनि ‘पेलान’ भोग्नुपरेपछि रावल ओलीसँग महाधिवेशनमा ‘भिड्ने’ निष्कर्षमा पुगेको उनी पक्षधर नेताहरू बताउँछन्। ओलीले साविककै उपाध्यक्ष पदको ‘अफर’ पनि नगरेका होइनन्।

‘हक्की र निडर’ स्वभावका रावलले ओलीको प्रस्ताव इन्कार गरे। महाधिवेशनमा ‘मनोवैज्ञानिक’ रूपमा दिइएको ‘त्रास’लाई पनि सामना गर्न तयार भए। ओली पक्षधर नेताहरूले चुनाव नगराई महाधिवेशन हलबाट सर्वसम्मत नेतृत्व चयनको कुरा उठाएपछि रावलले त्यसविरुद्ध अदालत जाने सम्मको ‘चेतावनी’ दिए। रावल पक्षधर एक केन्द्रीय सदस्य भन्छन्, ‘अहिले उपाध्यक्ष भएर के गर्नु ? महाधिवेशनपछि संस्थापन पक्षले जिम्मेवारी नदिने र पेल्ने नीति कायमै राख्छ।

हालै ललितपुरमा सम्पन्न विधान महाधिवेशनले उमेर हदसम्बन्धी गरेको व्यवस्थाले पनि रावललाई अध्यक्षमा लड्नै पर्ने ‘बाध्यता’ सिर्जना गरेको थियो। ७० वर्षे उमेर हदका कारण रावल ५ वर्षपछिको महाधिवेशनमा पदाधिकारी बन्न सक्दैनन्। अर्कातर्फ, विगतको माधव नेपाल पक्षको मत संरक्षण गर्ने र त्यो कित्ताको नेता आफू भएको प्रमाणितसमेत गर्न चाहन्छन्, रावल। अर्थात्, पार्टीमा ओली ‘निर्विकल्प’ होइनन् र फरक मत पनि छ भन्ने सन्देश दिन रावलले चाहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए। ‘म अर्कोपटक अध्यक्ष हुन्न भन्ने अध्यक्ष कमरेडको भावनाको सम्मान गर्न र पार्टीमा विधि र नीतिको पालनाका लागि मैले अध्यक्षमै उठ्ने निर्णय लिएको हुँ,’ रावलले भने। – अन्नपुर्ण पोष्टबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*