कांग्रेस महाधिवेशन – कार्यतालिकामा हेरफेर, उद्घाटनपछि मात्र मनोनयन दर्ता

तामसालिङ खबर
१४ मंसिर २०७८, मंगलवार ०७:४५

मंसिर, काठमाण्डौ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम हेरफेर गरिएको छ । प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम रहेकामा त्यसलाई मंसिर १७ गतेका लागि सारिएको छ ।

मंसिर १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिनु भयो । केन्द्रीय महाधिवेशन पनि उम्मेदवारी मनोनयन दर्ता महाधिवेशनको उद्घाटन कार्यक्रमपछि अर्थात मंसिर २५ गते हुनेछ । यसअघि निर्वाचन समितिले उद्घाटनअघि नै मंसिर २१ गते नै मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरेको थियो ।

सोमबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिका पदाधिकारीहरु सँग छलफल गरेका थिए ।

छलफलमा नेताहरुले महाधिवेशन उद्घाटन हुनुअघि नै मनोनयन दर्ता गर्नु व्यवहारिक नभएको भन्दै संशोधन गर्न आग्रह गर्नु भएको थियो । त्यसपछि महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गरेको निर्वाचन समितिका एक सदस्यले बताए । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*