गठबन्धनलाई भाग पुर्‍याउन जम्बो मन्त्रिपरिषद्को तयारीमा मुख्यमन्त्री पाण्डे

८ मन्त्रालय फुटाएर १२ वटासम्म बनाउने तयारी
तामसालिङ खबर
१४ कार्तिक २०७८, आईतवार ०९:५५

कार्तिक, हेटौडा – तिहारलगत्तै सदनबाट विश्वासको मत लिने तयारीमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्त्रालय भागबन्डामा जुटेका छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहेका छन् ।

माओवादी र कांग्रेसले चार/चार मन्त्रालय र एक/एक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ । मुख्यमन्त्री पाण्डेले पनि शपथ ग्रहणलगत्तै यसतर्फ संकेत गरिसकेका छन् । उनले गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गरेका हुन् । माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले लबिइङ थालिसकेका छन् ।

तीनवटै पार्टीले मन्त्रीको नाम उपलब्ध गराउन नसकेपछि पाण्डेको शपथ ग्रहणमा संसदीय दलका उपनेताको नेतृत्वमा सरकारमा जाने निर्णय गरेर दलहरूले पहिलो चरणमा सांसदहरूलाई थामथुम पारेका थिए ।

मुख्यमन्त्री पाण्डेले ८ मन्त्रालय फुटाएर मुख्मन्त्रीसहित १२ वटासम्म बनाउने तयारी गरेका छन् । साढे ३ वर्षसम्म मुख्यमन्त्री रहेका डोरमणि पौडेलले ७ मन्त्री र १ राज्यमन्त्रीबाट प्रदेश सरकार चलाउँदै आएका थिए ।

त्यसपछि मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको पालामा ८ मन्त्री र ४ राज्यमन्त्री गरी १२ सदस्यीय मन्त्रिपरिषद् थियो । शाक्यले मन्त्रिपरिषद् ठूलो बनाएको भन्दै गठबन्धनले व्यापक विरोध गरेको थियो ।

एमाले उपाध्यक्ष शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि गठबन्धनले पाण्डेको नेतृत्वमा सरकार गठन गरेको हो । अहिले वाग्मतीमा मुख्यमन्त्रीसहित एकीकृत समाजवादीबाट दुई, माओवादी र कांग्रेसबाट एक/एक जना गरी चार सदस्यीय मन्त्रिपरिषद् छ ।

गठबन्धनका एक सांसदका अनुसार सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद र महिला बालबालिका तथा ज्येष्ठ नागरिक गरी तीनवटा मन्त्रालय बनाइनेछ । यसअघि मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय बनाएकी थिइन् । त्यसलाई पुनः विभाजन गरेर थप दुइवटा मन्त्रालय गठन गरिने तयारी भइरहेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयलाई फुटाएर ऊर्जा तथा खानेपानी मन्त्रालय बनाउने छलफल भइरहेको छ । ‘यो मन्त्रालय हाल कांग्रेसले सम्हालेको छ । ३७ प्रतिशत बजेट यसै मन्त्रालयमा रहेका कारण कांग्रेसले विभाजन गर्न मानिरहेको छैन,’ गठबन्धनका एक सांसदले भने ।

उनका अनुसार भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पनि विभाजन गरेर कृषि मन्त्रालय छुट्टै बनाउने र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयलाई विभाजन गरेर वन तथा वातावरण मन्त्रालय बनाउने मुख्यमन्त्री पाण्डेको तयारी छ ।

गठबन्धनमा सहभागी दलहरूबाट १२ जनासम्म मन्त्री नै बन्नेछन् भने तीन राज्यमन्त्री बन्ने करिब टुंगो लागिसकेको छ । ‘मन्त्री र राज्यमन्त्री गरेर १६ जनासम्म हुने देखिएको छ । संविधानअनुसार २२ जनासम्म बनाउन सकिन्छ,’ ती सांसदले भने । कांग्रेस र माओवादी केन्द्रले ४/४ वटा मन्त्री र एकीकृत समाजवादीले मुख्यमन्त्रीसहित ४ जना मन्त्री पाउने गरी छलफल भइरहेको छ ।

‘हालकै अवस्थामा गठबन्धनमै रहेको जनता समाजवादी पार्टीलाई एउटा राज्यमन्त्री मात्र दिने र बाँकी राज्यमन्त्री आवश्यकताका आधार बाँडफाँट गर्ने गरी सत्तारूढ दलभित्र छलफल जारी छ,’ ती सांसदले भने । उनका अनुसार जसपाले पनि मन्त्रीमै दाबी गरिरहेको छ ।

हाल फुटको संघारमा रहेको विवेकशील साझा पार्टी पनि गठबन्धनमा सामेल भएको खण्डमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि गठबन्धनभित्र छलफल भइसकेको छ । स्रोतका अनुसार विवेकशील साझा विभाजन भएको खण्डमा गठबन्धनमा आएर सरकारमा जाने सम्भावना छ । वाग्मती प्रदेशमा विवेकशीलका तीन सांसद छन् । – ईकान्तिपुर बाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*