मकवानपुरको महिला फुटबल टोली उपमेयर कप खेल्न प्रस्थान
कार्तिक, हेटौंडा – मकवानपुरको महिला फुटबल टोली काठमाडौंमा जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनौट प्रतियोगितामा खेल्न काठमाडौं प्रस्थान गरेको छ ।
कप खेल्न काठमाडौं हिँडेको खेलाडी, प्रशिक्षक तथा पदाधिकारीसहितको टोलीलाई हेटौंडा उपमहानगरपालिकाले एक कार्यक्रम आयोजना गरी विदाई गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाकी उमेयर मिना कुमारी लामा, खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिका अध्यक्ष चन्द्र शाही लगायतले शुभकामना व्यक्त गर्दै बिदाई गरेका हुन् ।
मकवानपुरे टोलीको गोलरक्षक सोनु मैनाली र समिना स्याङ्तान रहेका छन् । डिफेन्डरमा एलिना मगर, दिक्षा मोक्तान, मनिषा माया जिम्बा, सावित्री प्रजा, अन्जु गोले र पुर्णिमा थोक्कर छन् । मिडफिल्डमा विना डिम्डुङ्ग, सावित्री श्रेष्ठ, बसन्ती माया दोङ, प्रमिला लामिछाने, पुजा मोक्तान, लक्ष्मी गोले र रिना पाख्रिनले खेल्ने छन् ।
संजिता भोम्जन, धनमाया थिङ र सुजिता भोम्जनले फर्वाड लाइन सम्हाल्ने छन् । यसैगरी प्रशिक्षकमा भिम लामा र पदाधिकारीमा विमल श्रेष्ठ (टोनी) रहेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेपछि मकवानपुर फुटबल संघले हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित बनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेल मैदानमा केही दिनको प्रशिक्षण पश्चात १८ सदस्यीय खेलाडी छनौट गरिएको थियो ।
जसमा ११ जना प्रत्यक्ष र ७ जना बैकल्पिक खेलाडी छनौट भएका छन् । प्रशिक्षणमा जिल्लाभरीका ३० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।
उपमेयर कपमा समुह एफ मा रहेको हेटौंडा उपमहानगरले पहिलो खेल १० कार्तिकमा गैंडाकोट नगरपालिका सँग खेल्ने छ । दोस्रो खेल १२ कार्तिकमा तुल्सीपुर नगरपालिकासँग खेल्ने कार्यतालिका छ । खेल सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । छनोटको फाइनल पुग्ने टोलीले महिला राष्ट्रिय लिगमा स्थान बनाउने छन् ।