एमालेको विधान महाधिवेशन आजदेखि सुरु

तामसालिङ खबर
१५ आश्विन २०७८, शुक्रबार ०९:४२

असोज, काठमाण्डौ – नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ । महाधिवेशन ललितपुरको गोदावरीमा हुने जनाइएको छ ।

नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो । विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ । तीन दिनसम्म संचालन हुने भेलामा करिब ६ हजार नेता तथा कार्यकर्ता सहभागी हुने हुँदैछन् ।

आगामी मंसिरको दोस्रो हप्ताका लागि नेतृत्व चयनका लागि पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ । विधान महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने विधान महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ ।

उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

विधान महाधिवेशनको दोस्रो दिन समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन पर्सि १७ गते दस्ताबेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिने एमालेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*