परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन – प्रचण्ड

तामसालिङ खबर
२ आश्विन २०७८, शनिबार १६:५१

असोज, काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले पनि संशाेधन बिना पारित नहुने बताएका हुन् ।

शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यसअघि शेरबहादुर देउवा नेतृत्वकै सरकार रहेको बेलामा एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित गर्नु पर्छ भन्ने कुनै प्रावधान नभएको दावी गरे ।

उनले भने ‘ तर पछि केपी ओली नेतृत्वको सरकारमा प्रतिनिधिसभाबाट पारित गर्नु पर्ने विषय आएपछि मात्रै एमसीसीको विवाद श्रृजना भएको थियो ।’ उनले अगाडी भने ‘ अमेरिकी संसदमा यो एमसीसी इण्डो प्यासिफिक स्ट्रेटजीको अंग हो भन्ने विषय चर्चामा आएपछि विवाद झन चर्कियो ।’

यी गलत विषयहरुलाई संशोधन र परिमार्जन नभएसम्म एमसीसी पारित नहुने उनले दोहर्याए । पैसा र विकास देशलाई चाहिएकाले एमसीसी सम्झौता परिमार्जनपछि प्रतिनिधिसभाबाट पारित गराउन आफूहरु तयार रहेको उनले स्पष्ट पारे ।

उनले असोज ४ सम्ममा सरकारले पूर्णता पाउने पनि बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले प्राविधिक कारणले सरकारलाई पूर्णता दिन ढिलाई भईरहेको स्वीकार गर्दै अब भने मन्त्रिमण्डल विस्तारमा ढिलाइ नहुने बताएका हुन् । उनले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन दलका सम्बन्धमा भ्रम सिर्जना काम भइरहेको पनि बताए ।

प्रचण्डले भने ‘ प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै पनि बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस गठबन्धनमा कुनै किसिमको विवाद छैन यो गठबन्धन टुट्दैन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*