बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका बानियाँ र एकीकृत समाजवादीका पाण्डे दाबेदार

तामसालिङ खबर
१७ भाद्र २०७८, बिहीबार ०७:०९

भदौं, हेटौंडा – बागमती प्रदेशमा नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेतृत्व गरेको प्रदेश सरकार संकटमा परेसंगै काग्रेश र एकीकृत समाजबादी पार्टीले मुख्यमन्त्रीमा दावि गरेका छन् ।

नेकपा एमलोका १२ जना सांसदले एकीकृत समाजबादी पार्टी रोजेसंगै एमालेको सरकार ढल्ने निश्चित भएको छ । अब यस प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ वा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेमध्ये एक जना मुख्यमन्त्री हुने सम्भावना छ ।

बानियाँ प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र हुन् भने पाण्डे पूर्वप्रधानमन्त्री माधव नेपालनिकट हुन् । ‘मुख्यमन्त्री को बन्छ वा कसको नेतृत्वमा सरकारमा जाने विषय हामीले चाहेर हुँदैन । हामी गठबन्धन भएका कारण केन्द्रीयस्तरमा भएको निर्णयअनुसार अगाडि बढ्नुको विकल्प छैन,’ कांग्रेसका एक सांसदले भने, ‘मुख्यमन्त्रीको दौडमा बानियाँ र पाण्डे रहेका छन् ।’ पाण्डेले मुख्यमन्त्रीको दाबी गरिसकेका छन् भने बानियाँले कुनै प्रतिक्रिया जनाइसकेका छैनन् ।

माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेलले आफ्नो दलले मुख्यमन्त्री प्राप्त गर्ने सम्भावना नरहेको बताए । ‘हाम्रो नेतृत्वमा देशभर तीनवटा प्रदेश सरकार छन् । त्यसैले हामीले मुख्यमन्त्री प्राप्त गर्ने सम्भावना छैन । तर हामी सरकारमा जान्छौं ।’

प्रदेशसभामा ३ सिट रहेको विवेकशील साझा पार्टीले भने सरकारमा नजाने स्पष्ट पारेको छ । ‘हामीलाई प्रतिपक्षमा बस्ने म्यान्डेट हो । कामका आधारमा सरकारलाई सहयोग वा असहयोग गर्छौं,’ विवेकशीलका सांसद रमेश पौड्यालले भने । प्रदेशसभामा २ सिट रहेको राप्रपाका साथै नेमकिपा तथा स्वतन्त्र सांसदले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

वाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको एमाले सरकार दुई साता नबित्दै अल्पमतमा परेको हो । शाक्यले गत २ गते पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी थिइन् । एमालेका तर्फबाट प्रदेशसभा सदस्य भएका १२ जनाले मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर नयाँ दल एकीकृत समाजवादी रोज्दै सनाखत गरेका छन् । १ सय ९ सांसद रहेको प्रदेशसभामा अब एमाले ४४ सिटमा सीमित भएको छ । बहुमतका लागि ५५ सिट चाहिन्छ ।

पार्टी विभाजनअघि एमालेमा सभामुखसहित ५६ सदस्य थिए । सांसदहरू राजेन्द्र पाण्डे, कृष्ण खनाल शर्मा, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, वसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की एमाले छाडेर एकीकृत समाजवादीमा लागेका हुन् । ‘हामी पहिलो चरणमा जम्मा भएका साथीहरूले सनाखत गरेका हौं । अझै थपिनुहुन्छ,’ सांसद बसुन्धरा हुमागाईंले भने । उनले नवगठित पार्टीमा वाग्मती प्रदेशका २१ सांसद रहेको दाबी गरे ।

दल विभाजनको जानकारी प्रदेशसभामा प्राप्त भएकाले बढीमा ३० दिनभित्र नवनियुक्त मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ । उनी संविधानको धारा १६८ (१) अनुसार प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेताका रूपमा नियुक्त भएकी थिइन् । पार्टी विभाजन नभएको भए शाक्यले विश्वासको मत लिनुपर्दैनथ्यो ।

मुख्यमन्त्री शाक्यको सरकार ढल्ने निश्चित भएसँगै एमाले इतरका दलहरू गठबन्धन सरकार बनाउने तयारीमा लागेका छन् । सरकारले विश्वासको मत लिन आलटाल गरे विपक्षी गठबन्धनले विशेष अधिवेशन बोलाएर भए पनि नयाँ सरकार निर्माण गर्ने उनीहरूको भनाइ छ । प्रदेशसभामा माओवादीको २३ र कांग्रेस २२ मत छ । सरकार गठनका लागि गठबन्धनलाई थप १० मत भए पुग्छ । एकीकृत समाजवादीमा १२ सांसद खुलिसकेका कारण गठबन्धनको सरकार बन्ने निश्चित छ । इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*