पुस्तकालय दिवसको अवसरमा मकवानपुरमा ५ पुस्तकालय उद्घाटन

तामसालिङ खबर
१६ भाद्र २०७८, बुधबार ०७:२०

भदौं, हेटौडा – पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरतामा एकैदिन मकवानपुर जिल्लामा ५ वटा पुस्तकालय उद्घाटन गरिएको छ ।

१४ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा पुस्तकालय अभियान समूह मकवानपुरले जिल्लाका ५ स्थानमा एकसाथ पुस्तकालय उद्घाटन गरेको हो । यसअघि अभियानले मकवानपुरमा ६ वटा र छिमेकी जिल्ला बारामा एउटा गरी ७ वटा पुस्तकालय स्थापना गरिसकेको छ ।

मंगलबार बिहान हेटौंडा–१, चौकीटोलमा नवज्योति पुस्तकालय स्थापना भएको छ । २०४७ सालमा स्थापना भएको नवज्योति पुस्तकालय २०५७ सालदेखि बन्द अवस्थामा थियो । पुस्तकालय अभियान समूहको सहयोगमा मंगलबार पुस्तकालय सुचारु गर्ने गरी उद्घाटन गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यमा पुस्तकालय उद्घाटन कार्यक्रम भएको हो । त्यस्तै मकवानपुरगढी गाउँपालिका–५, धादिङमा पनि पुस्तकालय उद्घाटन भएको छ । गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले पुस्तकालयको उद्घाटन गर्नुभएको हो ।

पुस्तकालयका लागि आवश्यक पुस्तक खरिद गर्न गढी गाउँपालिकाकै १० जनाले ५० हजार रुपैयाँ पुस्तकालय अभियान समूहलाई सहयोग गरेका हुन् । यस्तै मकवानपुरको बकैया गाउँपालिका–७, हात्तीचरणमा हात्तिचरण सामुदायिक पुस्तकालय, भीमफेदी गाउँपालिका–४, निबुवाटारमा ज्ञानज्योति पुस्तकालय उद्घाटनको कार्यक्रम भएको छ । यस्तै हेटौंडा–१८, दोभानचौरमा दोभानचौर सामुदायिक पुस्तकालय उद्घाटन भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*