सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो

तामसालिङ खबर
२ भाद्र २०७८, बुधबार ०७:३८

भदौ, काठमाण्डौ – सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागी मध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ ।

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको    हो । परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले बताए ।

लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताए । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ । कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उनले बताए ।

नयाँ मापदण्डानुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ । पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।

उनले भने, “लिखित परीक्षामा सीमित प्रश्नबाटै आउने भएकाले उत्तीर्ण अङ्क पहिले ५० भएकामा अहिले ६० बनाइएको छ ।” प्रयोगात्मक परीक्षामा सामान्य खालका गल्ती भइहालेमा पनि सहभागी उत्तीर्ण नहुने गरेकामा अहिले ससाना गल्ती गरे पनि अनुत्तीर्ण नहुने मापदण्डमा व्यवस्था छ । प्रयोगात्मक परीक्षामा आठ वटा आधार रहेकामा कुनैमा गल्ती गर्नै नहुने र कुनैकुनैमा सानो गल्ती भइहालेमा पनि पास नै हुने प्रवक्ता डा भुषालले बताए ।

पहेँलो धर्कामा छुँदा, एक पटक केही गरी गाडी बन्द भएमा वा मोडमा बत्ती नबाल्दा पनि छुट दिइने व्यवस्था छ । उनले भने, “उकालोमा रोकर अड्याउनुपर्नेमा गल्ती हुँदा भने फेल हुनेछ ।” भारत, चीन, बेलायत, अमेरिकालगायतका देशमा भन्दा हाम्रो अप्ठेरो परीक्षा प्रणाली भएकाले परीक्षा प्रणाली केही सजिलो बनाउन लागिएको विभागले जनाएको छ ।

यसअघि विभागले लिखित परीक्षामा सहभागी सेवाग्राहीले प्रयोगात्मक परीक्षामा एक पटक उत्तीर्ण नहुँदा अर्काे दुई पटक सहभागी हुन पाउने व्यवस्था गरेको थियो । नयाँ मापदण्डमा पनि यसलाई निरन्तरता दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*