विद्युत् महशुल पनि घटाएर केही समयमा निर्णय सार्वजनिक गर्छु – मन्त्री भुसाल
साउन, काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिट बिजुली निशुल्क गर्ने निर्णय केही समयपछि सार्वजनिक गर्ने बताएकी छन् । ललितपुर महानगरपालिका–३ मा सोमबार आयोजित विद्युतीय गाडी र विवेकशील बत्ती शुभारम्भ गर्ने कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले फेसबुकमा लेखेकी छन् ‘आधारभूत वर्गका जनता जसले २० युनिट बिजुली बाल्नुहुन्छ, उहाँहरुलाई निःशुल्क विद्युत् उपलब्ध गराउन गइराखेको छु’ भुसालले लेखेकी छन् ‘घरेलु उपभोग गर्ने विद्युत्को दर घटाउन गइरहेको छु । केही समयमा यो निर्णय सार्वजनिक गर्नेछु ।’
त्यस्तै डलरमा खरिद गर्नुपर्ने एल्पी ग्यास विस्थापित गरी विद्युत् खपत गर्ने अभियानमा सघाउन अपिल गरेकी छन् । मन्त्री भुसालले एल्पी ग्यासलाई विस्थापित गर्ने गरी विद्युत्को उपभोग गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘बिजुलीको चुलोमा खाना पकाउन सबैलाई आग्रह गर्न चाहन्छु ।”
आफूले विद्युत् महसुल दर घटाउने नीति सार्वजनिक गर्न लागेको जानकारी दिँदै उनले भनिन् ‘घरेलु उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर कम गर्नेछु । केही दिनमा त्यस विषयमा निर्णय गर्नेछु ।’