हेटौडाको बजेट २ अर्ब ६० करोड, आधा बजेट पूर्वाधार विकासमा खर्चिने
असार, हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको छ ।
बिहीबार भएकोे उपमहानगरको नवौं नगरसभामा उपप्रमुख मीनाकुमारी लामाले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रम र बजेटअनुसार करिब ५० प्रतिशत बजेट पूर्वाधार विकासमा खर्चने उल्लेख छ । कुल बजेटमध्ये पूर्वाधार विकासतर्फ १ अर्ब ३० करोड ४५ लाख ७६ हजार रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ । त्यस्तै आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ६३ करोड ९२ लाख ९९ हजार, स्वास्थ्यतर्फ ८ करोड ७६ लाख १० हजार विनियोजन गरिएको उपप्रमुख लामाले बताइन् ।
यसैगरी, उपमहानगरपालिकाले संस्कृति प्रवर्धनतर्फ २ करोड ३७ लाख, खेलकुद तथा मनोरञ्जनतर्फ ३ करोड ७२ लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ३ करोड ७ लाख, वातावरण तथा विपद्व्यवस्थापनतर्फ ५ करोड ४४ लाख २२ हजार र संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ १ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उपमहानगरको आगामी आवमा २४ करोड ३८ लाख ७५ हजार रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार, संघीय सरकारको अनुदान १ अर्ब २ करोड १ लाख, नगर विकास कोषबाट ऋण अनुदान ९ करोड र गत बर्षको नगद मौज्दातबाट ५६ करोड रूपैंयाँ व्यवस्थापन हुने अनुमान गरिएको छ ।
उपमहानगरले चालु आवमा चालु खर्चतर्फ १ अर्ब १९ करोड ४ लाख ७० हजार बजेट बिनियोजन गरेकोमा ८२ करोड ६४ लाख ३३ हजार अर्थात ६९.८२ प्रतिशत खर्च भइसकेको जनाइएको छ । पुँजीगततर्फ १ अर्ब ३३ करोड ७४ लाख ६३ हजार विनियोजन भएकोमा हालसम्म ५० करोड ३२ लाख ४० हजार अर्थात ३७ प्रतिशत खर्च भएको उपप्रमुख लामाले बताइन् ।
उपमहानगरको आगामी आर्थिक वर्षको बजेटले आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने, उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्ने, जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढाउने, स्थानीय सहभागिता जुटाउने, स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग गर्ने प्राथमिकता निर्धारण गरेको छ ।
(पूर्ण पाठ सहित)
program n policy