मालिकामा लोकल रक्सी ब्राण्डिङ गर्ने कानुन निर्माण

तामसालिङ खबर
११ असार २०७८, शुक्रबार १९:३२

असार, गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले स्थानीय लोकल रक्सी (घरेलु मदिरा)लाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाले नवौं गाउँसभाबाट स्थानीय स्तरमा उत्पादन हुने लोकल रक्सी बिक्री वितरण तथा व्यवस्थापन ऐन २०७८ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए।

स्थानीय स्तरमा उत्पादन हुने कोदो र खुर्पानीको रक्सीलाई गुणस्तर मापन गरी स्टिकर टास्ने र सिलबन्दी गर्ने गरी ऐन तयार पारी पारित गरिएको भण्डारीले बताए । ऐन गाउँसभाबाट पारित भएसँगै अब नियमावली बनाएर कार्यान्वयन गर्ने भण्डारीको भनाइ छ ।

गाउँपालिकाले बनाएको ऐन विपरीत घरेलु मदिरा बिक्री वितरण र उत्पादन गरे ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने ऐनमा उल्लेख छ । अवैध रुपमा गाउँमा घरेलु मदिराका भट्टीहरु चलेको भन्दै त्यसलाई कानुनी दायरामा ल्याएर साना उद्योगको रुपमा सञ्चालन गर्ने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।

ऐन लागु भएपछि लुकीछिपी मदिरा बिक्री वितवरणमा कमी आउने र दर्ता प्रक्रियामा आएपछि करको दायरा पनि बढ्ने गिरीको दाबी छ । उनले सकभर मदिरा सेवन नगर्ने र सेवन गर्नै पर्ने भए स्थानीय उत्पादन नै प्रयोग गर्नुपर्नु पर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*